मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको हत्या

मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको हत्या

मुगु : मुगुको छायानाथ रारा नगरपालिका–५ धारिलो हतियार (खुँडा) प्रहारबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया धनवीर कामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धारिलो हतियार (खुँडा) प्रहार गरी धनवीरलाई गम्भीर घाइते बनाएका थिए। घाइते वृद्धलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

खुँडा प्रहार गरी फरार रहेका अभियुक्त अजविरलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

असोज २७, २०८३ मंगलबार १३:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।