विवादास्पद अडियोको पात्र म होइन, प्रहरीले षड्यन्त्र गर्‍यो : सांसद खगेन्द्र सुनार

विवादास्पद अडियोको पात्र म होइन, प्रहरीले षड्यन्त्र गर्‍यो : सांसद खगेन्द्र सुनार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो नक्कली भएको दाबी गर्दै आफूलाई फसाउन योजनाबद्ध षड्यन्त्र रचिएको बताएका छन्।

पार्टीले उनीमाथि छानबिन थाल्दै औपचारिक कार्यक्रममा जान रोक लगाएलगत्तै मंगलबार एक भिडियो सन्देश जारी गर्दै सांसद सुनारले नेपाल प्रहरीभित्रको अनियमितताविरुद्ध बोलेका कारण आफ्नो ‘चरित्र हत्या’ गर्न खोजिएको आरोप लगाएका हुन्।

अडियोबारे प्रष्टीकरण दिँदै सांसद सुनारले उक्त स्वर आफ्नो नभएको दाबी गरे।

‘अहिले सामाजिक सञ्जालमा जे अडियो–भिडियो आएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन। त्यो पात्र म होइन। हामीले बोलेका छैनौँ,’ उनले भने, ‘प्रविधि, एआई वा अरू कसैलाई नक्कल गर्न लगाएर काल्पनिक पात्र खडा गरी मेरो चरित्र हत्या गर्ने प्रपञ्च गरिएको हो।’

प्रहरीमाथि गम्भीर आरोप
संसद्को सार्वजनिक लेखा समितिमा प्रहरीभित्रको अनियमितताबारे प्रश्न उठाएका कारण आफूलाई निशाना बनाइएको उनको जिकिर छ। नेपाल प्रहरीका जवानहरूका लागि खरिद गरिने जुत्ता-मोजा तथा पोसाकको भ्रष्टाचारविरुद्ध बोलेपछि प्रहरी संयन्त्र नै आफूविरुद्ध खनिएको उनले आरोप लगाए।

‘मैले लेखा समितिमा प्रहरीभित्रको भ्रष्टाचारमाथि निर्मम प्रश्न गरेदेखि नै नेपाल प्रहरीको हेडक्वार्टरदेखि सीआईबीसम्मले मवरिपरिका साथीभाइ, इष्टमित्र र आफन्तलाई मुद्दा हाल्न उक्साउने, पैसाको प्रलोभन दिने र माइतीघरमा धर्ना दिन लगाउनेसम्मका तिकडम गरिरहेका छन्,’ सुनारले भिडियोमा भनेका छन्, ‘बर्दी, बन्दुक र हतकडीको दुरुपयोग गरेर एउटा जनप्रतिनिधिलाई यसरी घेराबन्दी गर्न पाइन्छ कि पाइँदैन? यो आम जनताले बुझ्नुपर्ने कुरा हो।’

‘छानबिन सामना गर्न तयार छु, पद छाड्न आपत्ति छैन’
आफू प्रश्नहरूबाट नभाग्ने उल्लेख गर्दै सांसद सुनारले पार्टी, संसद् र राज्यका जुनसुकै निकायले गर्ने निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको बताए। कानुनविपरीत कुनै कार्य गरेको ठहरिए हतकडी लगाउन र जेल जान पनि तयार रहेको उनको भनाइ छ।

‘ममाथि सबै किसिमको छानबिन होस्। मैले कानुनको आँखामा कुनै अपराध गरेको छु भने म यहीँबाट हतकडी लगाएर जेल जान तयार छु,’ उनले भने, ‘छानबिनका लागि पार्टीको केन्द्रीय समिति र सांसद पद दुवै छाड्न मलाई कुनै आपत्ति छैन। तर ममाथि रचिएको यो नियोजित घेराबन्दी र चरित्र हत्याविरुद्ध जनताको अदालतमा उभिन म तयार छु।’

यसअघि आजै रास्वपाले एक पूर्व महिला सांसदसँग जोडिएको विवादास्पद र धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि सांसद सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाउँदै उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो।

पार्टीको निर्णय सार्वजनिक भएलगत्तै सुनारको यो भिडियो प्रतिक्रिया आएको हो।

असोज २७, २०८३ मंगलबार ११:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।