कांग्रेस महाधिवेशन : सानेपामा २५ समूह बनाएर मतगणना गरिँदै
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा निरन्तर जारी छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतगणनालाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन समितिले २५ वटा समूह बनाएर एकसाथ गणना गरिरहेको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पनि सम्पन्न भइसकेको छ।
अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, महिला केन्द्रीय सदस्य, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यका साथै भूगोलतर्फ सुदूरपश्चिम प्रदेश र ३५ वर्षमुनिका विभिन्न पदहरूको मतगणना तीव्र गतिमा भइरहेको छ।
त्यस्तै दलित, अल्पसङ्ख्यक, अपाङ्गता, मधेसी, खस-आर्य तथा पेसागततर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको मतगणनाका लागि पनि तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ।
असोज २७, २०८३ मंगलबार ११:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।