रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु, औपचारिक कार्यक्रममा जान रोक

रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु, औपचारिक कार्यक्रममा जान रोक

काठमाडौं : विवादास्पद अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ।

छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि पार्टीले उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनार जोडिएको अडियो तथा सञ्चारमाध्यममा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील भएको भन्दै रास्वपाले यसबारे सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ।

‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नाका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई (खगेन्द्र सुनार) सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ’, विज्ञप्तिमा उल्लेख छ।

पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादा उल्लङ्घन र फौजदारी कसुरका विषयमा ‘शून्य सहनशीलता’को नीति रहेको स्पष्ट पारेको छ।

साथै, यस प्रकरणमा राज्यका सम्बन्धित निकायहरूबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले सरकारी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले कानुन उल्लङ्घन गर्ने जो–कोहीलाई पनि राजनीतिक संरक्षण नदिने र छानबिनको निष्कर्षका आधारमा विधानबमोजिम थप कदम चालिने बताएको छ।

के थियो घटना ?
सोमबार ‘जनआस्था’ले सांसद सुनारको भन्दै एक विवादास्पद अडियो सार्वजनिक गरेको थियो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको उक्त अडियोमा उनले एक पूर्व महिला सांसदलाई लक्षित गर्दै अमर्यादित तथा आपत्तिजनक लाञ्छना लगाएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।

अडियो बाहिरिएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा सुनारको राजीनामा र कानुनी कारबाहीको माग उठेको थियो।

सांसद सुनार यसअघि पनि नेपाल प्रहरीको पोसाक खरिद प्रकरण, प्रहरी महानिरीक्षक (आईजीपी) सँगको विवाद, प्रस्तावित राजदूत नियुक्ति प्रकरण तथा गाईसम्बन्धी विवादित अभिव्यक्तिका कारण पटक-पटक विवादमा पर्दै आएका छन्।

असोज २७, २०८३ मंगलबार ०९:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।