उपत्यकाका २७ व्यापारिक फर्ममा अनुगमन : तीनवटालाई जरिवाना, तीनलाई स्पष्टीकरण
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा आकस्मिक अनुगमन गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका तीनवटा फर्मलाई जरिवाना गरिएको छ भने अन्य तीनवटालाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार नियमविपरीत कारोबार गरेको पाइएपछि तारकेश्वर नगरपालिका-११ स्थित आराध्या मसला तथा किराना पसल र बुढानीलकण्ठ नगरपालिका-१० स्थित जोशी किराना स्टोरलाई जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, बुढानीलकण्ठ-१० कै सुदूर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
त्यसैगरी लाजिम्पाटस्थित कुरिलो प्रा.लि., चावहिलस्थित अस्केटचा र नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित विभागमा हाजिर हुन निर्देशन दिइएको छ।
अनुगमन गरिएका अन्य २१ वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी तत्काल सच्याउन निर्देशन दिइएको छ।
सामान्य निर्देशन पाउनेहरूमा भाटभटेनी सुपरमार्केट (मध्यपुर थिमी शाखा), खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू छन्।
चाडपर्वका बेला उपभोक्ता ठगिने जोखिम बढी हुने भएकाले बजार अनुगमनलाई तीव्रता दिइएको र उपभोक्ता हितविपरीत काम गर्ने जो-कोहीलाई कारबाहीको दायरामा ल्याइने विभागले जनाएको छ।
असोज २७, २०८३ मंगलबार ०८:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।