२४ घण्टामा ५७ हजारले काठमाडौं उपत्यका छाडे
काठमाडौं : बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ।
अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा राजधानीमा रहेका नागरिकहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेसँगै उपत्यकाका मुख्य नाका र बसपार्कहरूमा चहलपहल बढेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि आज मंगलबार बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा धेरै नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना बाहिरिएका छन्।
यस्तै फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएका छन्।
सडक बिग्रिँदा सवारी व्यवस्थापनमा सकस
यात्रुको चाप बढे पनि सडकको दुरावस्थाका कारण सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीहरूले बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राजमार्गको खराब अवस्थाका कारण गाडीहरू समयमै गन्तव्यमा पुग्न र फर्कन नसकेको बताए।
‘असोज २३ गते अग्रिम टिकट बुकिङ खुला गरेकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा आवागमन अवरुद्ध भयो। गाडीहरू समयमै काठमाडौं फर्किन नसक्दा यात्रु व्यवस्थापनमा समस्या परेको छ’, महासचिव गौतमले भने।
महासङ्घले यात्रुहरूलाई आधिकारिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भन्दा बढी भाडा नतिर्न र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ।
असोज २७, २०८३ मंगलबार ०७:४४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।