बिहीबार र शुक्रबार अपराह्न पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने
काठमाडौं : केही दिनदेखिको लगातारको झरी रोकिएसँगै देशभरको मौसममा सुधार आउन थालेको छ।
आज पहाडी तथा हिमाली भेगका थोरै स्थानमा वर्षाको सम्भावना रहे पनि आगामी साता दशैंको समयमा भने मौसम प्रायः घमाइलो रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी हिमाली र पहाडी भेगमा आंशिक बदली रहनेछ।
यस क्रममा कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा तथा अन्य पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार र शुक्रबार अपराह्न पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनसक्ने भए पनि अर्को हप्ता दशैंमा भने देशभर मौसम घमाइलो र अनुकूल रहने देखिन्छ।
लगातारको झरी रोकिएर मौसम सफा हुन थालेसँगै दशैंको चहलपहल र यात्रामा निस्कनेहरूलाई राहत पुग्ने देखिएको छ।
असोज २७, २०८३ मंगलबार ०७:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।