किशोरीमाथिको यौन दुर्व्यवहारको घटनामा मिलापत्र गराउने डिएसपी र इन्स्पेक्टरमाथि छानबिन सुरु, १२ दिनपछि आरोपी पून पक्राउ

किशोरीमाथिको यौन दुर्व्यवहारको घटनामा मिलापत्र गराउने डिएसपी र इन्स्पेक्टरमाथि छानबिन सुरु, १२ दिनपछि आरोपी पून पक्राउ

काठमाडौं : १७ वर्षकी एक किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटना छानबिन नगरी मिलापत्र गर्दै छाडेको घटनाका आरोपी पक्राउ परेका छन्। किशोरीमाथिको यौन दुर्व्यवहारको घटनामा आरोपी पक्राउ परे पनि प्रहरी वृत्त कालीमाटीका प्रहरीले मिलापत्र गरेर आरोपी भारतीय नागरिक मिस्टर जिनालाई छाडेकोबारे उकेराले असोज २३ गते समाचार प्रकाशित गरेको थियो।

उकेरामा समाचार प्रकाशित भए लगत्तै कालीमाटीका प्रहरीले मिस्टर जिनालाई शनिबार पून पक्राउ गरेर किशोरीसँग जाहेरी लिएको हो। आरोपी कालीमाटी वृत्तको हिरासतमा छन्।

एक रात प्रहरी कार्यालयमा राखेर गम्भीर अपराधका आरोपीलाई मिलापत्र गराएर कालीमाटी वृत्तका प्रहरीले असोज ९ मा भारतीय नागरिक जिनालाई छाडेको थियो। उकेरामा प्रमाणसहित समाचार प्रकाशित भएको भोलिपल्ट असोज २४ मा कालिमाटीको प्रहरीले जिनालाई पून पक्राउ गरेर सोमबार अदालतबाट म्याद समेत थपेको छ।

“घटनामा संलग्न देखिएका आरोपीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ” जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले सोमबार उकेरासँग भने।

उकेराको खोजमा गार्मेन्ट सञ्चालन गरेर बसेका भारतीय नागरिक जिनाले आफ्नो कारखानामा काम गरेको १७ वर्षकी किशोरीको संवेदनशील अंग समातेर यौन दुर्व्यवहार गरेको घटना प्रहरी कार्यालयसम्म आइपुग्दा समेत प्रहरीको मिलेमतोमा मिलापत्र गराएर छाडेको खुलेको थियो।

असोज ९ को घटनाबारे समाचार सार्वजनिक भएपछि लगभग १२ दिनपछि आरोपी पून पक्राउ पर्नु, प्रहरीले पीडित किशोरीसँग जाहेरी लिनु र म्याद थपेर अनुसन्धान सुरु गर्नुले यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको बदनियत पुष्टि समेत भएको छ।

गम्भीर अपराधको आरोपीलाई प्रहरीले नै कागज गराएर मिलापत्र गराउनुमा वृत्तमा डीएसपी नरेशकुमार सिंह र वृत्तको अपराध अनुसन्धान तथा महिला बालबालिका सेलका प्रमुख प्रहरी निरीक्षक सोनीकुमार साह प्रत्यक्ष रूपमा संलग्न देखिएका छन्। 

डीएसपी र इन्स्पेक्टर छानबिनमा

१७ वर्षको किशोरीमाथि यौन दुर्व्यवहार हुन् गम्भीर अपराध हो। गम्भीर अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुको साटो उल्टो पीडितसँग “कतै उजुर-बाजुर नगर्ने” सर्तनामासहित मिलापत्र गराउनु अर्को गम्भीर अपराध हो।

घटनामा प्रहरीले आफूले पाएको अख्तियारीको दुरुपयोग गरेको प्रस्ट देखिन्छ। उकेराले प्रहरीको "अपराध" सार्वजनिक गरेपछि हतारहतार आरोपी पक्राउ गरिएको थियो। अहिले डीएसपी सिंह र इन्स्पेक्टर साहमाथि काठमाडौं परिसरले छानबिन सुरु गरेको छ। छानबिनमा सिंहले पीडितले जाहेरी नदिएकाले छाडे दाबी गरेका छन्। असोज ९ मा पिडितले जाहेरी नदिएको भए पून सोही पीडित ल्याएर प्रहरीले असोज २४ मा कसरी जाहेरी लियो? पीडित कसरी जाहेरी दिन राजी भइन्? प्रहरीले खुलाउन सकेको देखिएन।

काठमाडौं परिसरका प्रवक्ता समेत रहेका एसपी थापाले घटना संवेदनशील देखिएकाले यसबारे छानबिन समेत सुरु भएको उकेरालाई जानकारी दिए। प्रारम्भमा पीडितबाट जाहेरी नआएकाले छाड्नु परेको भन्ने आएको तर वास्तविकता के हो भनेर आन्तरिक छानबिन सुरु भइसकेको उनले बताए। 

“यस घटनाबारे जानकारी पाए लगत्तै हामीले आन्तरिक रूपमा बुझ्ने काम गरिरहेका छौँ,” उनले भने “यसबारे महिला बालबालिका हेर्ने हाम्रो युनिटले नै छानबिन गरिरहेको छ।”

असोज २६, २०८३ सोमबार १८:२४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।