काङ्ग्रेस महाधिवेशन : सानेपामा २३ ठाउँमा मतगणना, बुधबारसम्म सबै नतिजा आइसक्ने
काठमाडौं : नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो।
कुन पदको गणना कति ठाउँमा?
विभिन्न पद र धेरै सङ्ख्याका उम्मेदवारहरू रहेकाले निर्वाचन समितिले पद तथा क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर मतगणना गराइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
कटुवालका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै ९ स्थानमा भइरहेको छ।
त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ।
सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ।
पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ।
बुधबारसम्म अन्तिम परिणाम आउने
कटुवालका अनुसार कुल २३ वटा मतगणना स्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको कटुवालले बताए।
अघिल्लो महाधिवेशनमा झन्डै ३ हजार मतदाता रहँदा १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक त्यति समय नलाग्ने दाबी समेत गरे।
असोज २६, २०८३ सोमबार १७:३१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।