नारायणीमा भेटिएको वस्तु घर ल्याएर काट्न खोज्दा विस्फोट, दुई जना घाइते!

नारायणीमा भेटिएको वस्तु घर ल्याएर काट्न खोज्दा विस्फोट, दुई जना घाइते!

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ स्थित थकाली चोकमा सोमबार बिहान अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेहरूमा मध्यबिन्दु नगरपालिका-३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटे र भारतको मोतिहारी घर भई हाल कावासोती-८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमार रहेका छन्।

बोटेले सोमबार बिहान कावासोती नगरपालिका-१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा उक्त अज्ञात वस्तु फेला पारेका थिए। करिब २ फिट लम्बाइ र १४ इन्च गोलाइ भएको फलामजस्तो देखिने उक्त वस्तु बेलनाकार रहेको र बाहिरी भाग भने डोरीले बेरिएको थियो।

उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११:२० थकाली चोकमा बोटे र सचिन मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा अचानक विस्फोट भएको थियो। विस्फोटबाट घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको छ। 

प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ। फेला परेको वस्तुको प्रकृति तथा घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

असोज २६, २०८३ सोमबार १६:०६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।