पृथ्वी राजमार्गको गलौँदी खण्ड आज राति ६ घण्टा बन्द हुने

पृथ्वी राजमार्गको गलौँदी खण्ड आज राति ६ घण्टा बन्द हुने
फाइल तस्बिर

काठमाडौं : काठमाडौं आवतजावत गर्ने पृथ्वी राजमार्गको गलौँदी खण्डमा आज राति ६ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मत सम्भारका लागि  सोमबार राति ११ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म सो सडक खण्ड बन्द रहने जानकारी दिएको हो। 

त्रिशुली नदीको कटानका कारण गलौँदीमा सडक भासिएपछि मर्मत सम्भार गरी आइतबार दिउँसोदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। भासिएको ठाउँमा थप मर्मत सम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा उल्लेख छ।  

गत शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि दुई दिनसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। 

असोज २६, २०८३ सोमबार १४:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।