२४ वर्षदेखि निरन्तर हारिरहेका गुरु
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका नेता गुरुराज घिमिरे पराजित भए। उनी महाधिवेशनमा प्रदीप पौडेल र उदय शमशेर राणासँग पराजित भए।
२०८२ भदौ २३-२४ को जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व परिवर्तनको वकालत गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान शुरु गर्ने नेतृत्व उनैले गरेका थिए। पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा वकालत गर्दै शेखर कोइराला समूहमा विद्रोह गरे। दोस्रो विशेष महाधिवेशनमा उनी प्रदीप पौडेलसँग सर्वसम्मत महामन्त्री भए।
त्यही विशेष महाधिवेशनको बलमा भएको नियमित महाधिवेशनमा भने उनी नै पछि परे। सँगै महामन्त्री बनेका पौडेल सानदार मतका साथ विजयी हुँदा अनि विशेषमा सह-महामन्त्री रहेका राणा प्रमोशन भएर महामन्त्रीमा जित्दा उनी भने पराजित भए।
पार्टीको आन्तरिक र संसदीय राजनीतिमा गुरु पराजित भएको यो पहिलोपटक भने होइन। उनको राजनीतिक ग्राफ हेर्ने हो भने नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापतिमा जितेपछिका चुनावी प्रतिर्स्पर्धामा उनी हार्दै आएका नै देखिन्छन्। १५ औँ महाधिवेशनमा पनि त्यो क्रम रोकिएन।
२०५९ सालमा नेविसंघको केन्द्रीय सभापति बन्दा महामन्त्री गगन थापा थिए। नेविसंघको एकै कार्यसमितीमा रहँदा घिमिरे र थापाबीचको विवादले संगठनै प्रभावित भएको थियो। त्यसयता यी दुबै अलग अलग समूहमा रहेर पार्टी राजनीतिमा सक्रिय भए। विशेष महाधिवेशनमा यी दुबै एकै ठाउँमा उभिए। १५ औँ महाधिवेशनमा पनि उनले गगनलाई साथ दिए। तर उनलाई पार्टीका महाधिवेशन प्रतिनिधी र आन्तरिक गुटले साथ दिए।
गणतन्त्रको पहिलो बिउ, गगनको उचाइ र गुरुको ‘छायाँ’
राजनीतिक इतिहासका पृष्ठहरू पल्टाउदा घिमिरेमा विचार र सिद्धान्तमा सुझबुझ देखिन्छ। २०६२/६३ को दोस्रो जनआन्दोलनको वातावरण बन्नुअघि नै चावहिलस्थित पशुपति क्याम्पसमा आयोजित नेविसंघको एक कार्यक्रममा घिमिरेले कांग्रेसको राजनीतिक कार्यदिशा अब ‘संवैधानिक राजतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्र’ हुनुपर्छ भनेर भाषण गरेका थिए।
त्यसबेला पार्टीको संस्थापन पक्ष राजतन्त्रको विकल्पमा स्पष्ट भइसकेको थिएन। तर, घिमिरेले उठाएको यही गणतन्त्रको एजेन्डालाई तत्कालीन नेविसंघ महामन्त्री गगन थापाले बन्द कोठाबाट सडकमा ल्याए। राजद्रोहको मुद्दा लाग्दा पनि गुरु छुटेका थिएनन्।
तर जनआन्दोलनमा सोही एजेन्डाका आधारमा युवा वर्गलाई तरंगित पार्दै गगन राष्ट्रिय राजनीतिमा स्थापित हुँदै जाँदा गुरु पछाडि धकेलिँदै गए। त्यही बलमा पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै गगन सभापति बन्दा उनी नियमित महाधिवेशनमा महामन्त्रीमा दोहरिन सकेनन्।
गिरिजाप्रसादले नेविसंघ विघटन गर्नुको आन्तरिक कथा
गुरुराज घिमिरे नेविसंघ सभापति र गगन थापा महामन्त्री रहेको तत्कालीन कार्यसमितिभित्र गम्भीर आन्तरिक विवाद र राजनीतिक ध्रुवीकरण चर्किएको थियो। विशेष गरी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले अघि सारेको नीति र नेविसंघभित्रका युवा नेताबीचको अजेण्डा मिलिरहेको थिएन।
त्यसको अपजस गुरुले नै पाए। संस्थापन उनीसँग चिढिएको थियो। संगठनमा कसको पकड बलियो बनाउने भन्ने प्रतिष्पर्धामा गगन हावी बन्दै गए, गुरु कमजोर बन्दै गए। अध्यक्ष रहेका घिमिरे र महामन्त्री थापाबीचको सांगठनिक टकरावका कारण नेविसंघको संगठनै प्रभावित भयो।
सभापति घिमिरे र महामन्त्री थापाबीचको आन्तरिक द्वन्द्व तथा नियन्त्रण बाहिर जान थालेको गुटीय तानतानले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघमा हस्तक्षेप गरेर घिमिरे नेतृत्वको सिंगो नेविसंघ केन्द्रीय कार्यसमितिलाई नै भङ्ग गरिदिए। त्यसको मुख्य कारक गगन थिए। तर दोष पाए घिमिरेले।
सुजातादेखि शेखरसम्म र ओझेल पर्दै गएको राजनीतिक ग्राफ
नेविसंघको सभापति पदबाट हटेपछि घिमिरेको राजनीतिक ग्राफ सोचे जसरी माथि उठ्न सकेन। यसको एउटा मुख्य कारण पार्टीभित्रको अस्थिर गुटीय निष्ठा देखियो।
मोरङको राजनीति र कोइराला परिवारसँगको सामीप्यका कारण प्रारम्भमा उनी कोइराला निवास (विशेष गरी सुजाता कोइराला) निकट रहेर काम गरे। यो नै उनको राजनीतिक यात्रामा घातक भयो। उता गगन भने एकै गुटमा अड्किएनन्। उनी कहिले कृष्णप्रसाद सिटौलासँग मिलेर नयाँ गुट बनाउन सक्रिय भए त कहिले शेखर कोइरालासँग।
गिरिजाप्रसाद कोइरालाको निधनसँगै पार्टी राजनीतिमा सुजाता कमजोर भइन्। गुरु अलपत्र समान परे। पार्टीको १४औं महाधिवेशनसम्म आइपुग्दा सुजाता प्रकाशमान सिंह समूहको उपसभापतिको उम्मेदवार बनेर पराजित भएसँगै सभापतिमा दोस्रो पटक मतदान हुँदा शेरबहादुर देउवातिर लागिन्। घिमिरे भने डा. शेखर कोइरालाको टिममा थिए। यो बेलामा कोइरालाको मुख्य शक्ति गगन बनिसकेका थिए।
कोइराला परिवारभित्रै राजनीतिक विभाजन आउँदा अनि मोरङका स्थानीय प्रभावशाली नेताहरूबीच शक्ति संघर्ष चर्किँदा घिमिरे भने निरन्तर गुटीय चेपुवामा परे। यही आन्तरिक समीकरण नमिल्दा उनले आफ्नै प्रदेशमा ठूलो राजनीतिक क्षति व्यहोर्दै क्षेत्रीय सभापतिमा समेत पराजित भए।
समानुपातिकको आड र प्रत्यक्षतर्फ निरन्तर हारको शृङ्खला
विद्यार्थी राजनीतिपछिको संसदीय राजनीतिमा उनले अवसर नपाएका हैनन्। तर प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न सकेनन्। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बने।
२०७९ को प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दा उनी एमालेका जयप्रकाश चौधरीसँग १५४ मतको झिनो अन्तरले पराजित भए। यस्तै २०८२ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीसँग ठूलो मतान्तरले पराजित भए।
२ मतको धक्का र महामन्त्रीको प्रतिस्पर्धा
घिमिरेले कांग्रेसको क्षेत्रीय वा जिल्ला सभापतिजस्ता तल्ला तहमा चुनाव नलडी सीधा केन्द्रीय र प्रादेशिक राजनीतिमा प्रतिस्पर्धा गरे। २०७८ मा भएको पार्टीको १४औं महाधिवेशनमा कोशी प्रदेश सभापतिको चुनावमा डा. शेखर कोइराला प्यानलबाट लडेका घिमिरे संस्थापन पक्षका उद्धव थापासँग मात्र २ मतको अन्तर (८४४ विरुद्ध ८४२) ले पराजित भएका थिए।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व युवाले गर्नुपर्छ भन्दै विशेष महाधिवेशनको पक्षमा खडा भएका उनी सोही महाधिवेशनबाट सर्वसम्मत रुपमा महामन्त्री बने। शेरबहादुर देउवा नेतृत्वको असन्तुष्ट पक्षले विशेष महाधिवेशनलाई बहिष्कार गरेपछि उनी पार्टीभित्र सर्वसम्मत रुपमा महामन्त्री बनेका थिए।
तर, असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको १५औं नियमित महाधिवेशनमा महामन्त्री पदमा पराजित भए।
असोज २६, २०८३ सोमबार १५:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।