नवनियुक्त इन्स्पेक्टरहरूलाई प्रधानमन्त्रीले भने- संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थमा नलाग्नुस्
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नवनियुक्त तथा दीक्षित प्रहरी निरीक्षक(इन्स्पेक्टर)हरूलाई संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगन्ज) मा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी अधिकृतहरूले कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी व्यावसायिक मर्यादा जोगाउनुपर्ने बताए।
“मलाई विश्वास छ, यहाँहरू कुनै पनि किसिमको दबाब वा प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन”, सम्बोधनका क्रममा उनले भने।
प्रहरीको पेशागत सफलताको पहिलो मानक नै नैतिकता, निष्ठा र इमानदारी भएको उल्लेख गर्दै उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे।
नागरिकको जिउधनको रक्षा, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानमा प्रहरी सधैँ अग्रभागमा रहने भएकाले कुनै पनि अनुचित प्रभाव र भेदभावबिना कर्तव्यमा अडिग रहनुपर्ने उनको भनाइ थियो।
समयको परिवर्तनसँगै अपराधको स्वरूप र प्रवृत्ति बदलिएको भन्दै उनले प्रविधिको सही सदुपयोग गरी वैज्ञानिक र तथ्यपरक अनुसन्धानमा जोड दिनुपर्ने बताए।
“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्न जरुरी छ,” उनले थपे, “यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध छ।”
१६ महिना लामो आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले चुनौतीपूर्ण पेसामा सन्तानलाई पठाउने अभिभावकहरूप्रति आभार व्यक्त गरे। समारोहमा तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई कार्यक्षेत्र प्रस्थानका लागि बिदाइसमेत गरिएको थियो।
असोज २६, २०८३ सोमबार १२:२१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।