काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको यात्रुवाहक बस बर्दघाट नगरपालिका-४ स्थित एस मोड नजिक सोमबार बिहान करिब ७:३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको एचआर३९जी २८७६ नम्बरको भारतीय ट्रकमा सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा परी घाइते भएका सात जनालाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका-५ का २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका-३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका-८ का २९ वर्षीया निर्मला खड्का रहेका छन्। यसैगरी घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका-३ का ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका-१० का ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज २६, २०८३ सोमबार ११:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।