सिरिङ्गे हिमालको पहिरोले थुनेको नदी फुट्दा बुढीगण्डकीमा बाढी
काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरोले नदी थुनिएर फुटेपछि आइतबार बुढीगण्डकी नदीमा भीषण बाढी आयो। बिहान सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले स्थानीय उडनगुलुङ खोला थुनिँदा बुढीगण्डकीमा लेदोसहितको बाढी उर्लियो।
बाढीका कारण चुमनुब्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी ५ जना बेपत्ता भए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले जारी गरेको स्थिति प्रतिवेदनअनुसार नेपाली सेनाका चार वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ९५ जनाको सकुशल उद्धार गरिएको छ।
प्राधिकरणका अनुसार बिहान करिब ५:३० बजे चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा सिरिङ्गे हिमालबाट खसेको पहिरोले नदी थुनियो।
सूचना पाउनासाथ प्रहरीले सिर्दिबास र चुम्चेतबाट स्थानीय बासिन्दा तथा सल्लेरीस्थित टाम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारेको थियो।
बिहान ६:१५ बजे थुनिएको नदी फुटेपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आयो। बिहान ६:३० बजे आरुघाट बाढी मापन केन्द्रमा जलसतह २.२८ मिटर रहेकोमा बिहान ८:४० बजे बढेर उच्च विन्दु ८.४३ मिटर पुगेको थियो। आरुघाटमा ५ मिटरभन्दा माथिको बहावलाई खतराको तह मानिन्छ।
जोखिमलाई ध्यानमा राखी प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी करिब २ लाख सतर्कतामूलक एसएमएस पठाएको थियो। यस्तै, पाँच जिल्लाका २२१ जना आपत्कालीन प्रतिकार्यकर्तालाई परिचालनका लागि अलर्ट म्यासेज पठाइएको थियो।
७०३ सुरक्षाकर्मी परिचालन, विज्ञ टोली स्थलगत अध्ययनमा
विपद्लगत्तै गृहमन्त्री सुधन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको उपस्थितिमा बसेको कमान्ड पोस्टको बैठकले उद्धार र राहतलाई तीव्रता दिने निर्णय गरेको थियो।
प्रभावित क्षेत्रमा नेपाली सेनाका ३ वटा ‘स्पेसियल फोर्स’ सहित १७१ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३८९ जना गरी कुल ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तालिम केन्द्रका ५० जनाको टोली तयारी अवस्थामा राखिएको छ।
बाढीले सडक र पुलमा पुर्याएको क्षतिको अध्ययन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता हेर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली खटिएको छ। घटनाको भौगर्भिक कारण पत्ता लगाउन प्राधिकरणको नेतृत्वमा ड्रोन र भूगर्भविद्सहितको ३ सदस्यीय टोली पनि परिचालन गरिएको छ।
हेलिकप्टर र ट्रकबाट राहत ढुवानी सुरु
बाढी प्रभावित क्षेत्रमा बिहान १० बजेदेखि नै सडक र हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु गरिएको छ।
गोरखाका लागि: ६ वटा मिनी ट्रकमार्फत ११० थान टेन्ट, ११० थान त्रिपाल, ४४० थान म्याट्रेस, ४४० थान कम्बल, ३८० थान स्लिपिङ ब्याग, १७५ थान सोलार लाइट, ११० सेट किचेन सेट, २१० बक्स फुड बास्केट, जेनेरेटर तथा लत्ताकपडा पठाइएको छ।
नेपाली सेनाको एमआई हेलिकप्टरमार्फत पनि १० सेट विन्टर टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग र २१० बक्स फुड बास्केटलगायत सामग्री ढुवानी गरिएको छ।
धादिङका लागि: १ वटा मिनी ट्रकमार्फत ६० बक्स फुड बास्केट, ६० थान त्रिपाल, १८० थान म्याट्रेस, १८० थान कम्बल, ६० सेट किचेन सेट र लत्ताकपडा पठाइएको छ।
स्थानीय तहमा २१ दिनका लागि आवश्यक राहतको माग
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार प्रभावित चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका लागि २१ दिनका आधारमा राहत सामग्रीको माग प्रक्षेपण गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रभावितका लागि २७ सय केजी चामल, ४०५ केजी दाल, ७६० केजी आलु, ४३ थान टेन्ट, २१० थान म्याट्रेस र ४३ वटा हाइजिन किट माग गरिएको छ।
धार्चे गाउँपालिकाका लागि २३ सय ४० केजी चामल, ३५१ केजी दाल, ८१९ केजी आलु, ३९ थान टेन्ट, १६० थान म्याट्रेस र १२६ थान कम्बल माग हुँदा आरुघाट गाउँपालिकाका लागि १९ सय २० केजी चामल, ३८४ केजी दाल, ५७६ केजी आलु, ६४ थान टेन्ट, १२८ थान म्याट्रेस र १३० थान कम्बल माग भएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रभावित परिवारका लागि १,४५० केजी चामल, २९० केजी चिउरा, २९० केजी दाल, ११६ थान म्याट, २३२ थान कम्बल र ११६ थान टेन्टसहित वास किट र प्राथमिक उपचार सामग्रीको माग गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्थानीय अस्पतालले जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली र आकस्मिक चिकित्सक टोलीलाई प्रभावित क्षेत्रमा सेवा दिन उच्च सतर्कतामा राखेका छन्।
असोज २६, २०८३ सोमबार १०:४५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।