हेडसर कुट्ने व्यवस्थापन समितिका पूर्वअध्यक्ष पक्राउ

हेडसर कुट्ने व्यवस्थापन समितिका पूर्वअध्यक्ष पक्राउ

काठमाडौं : बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादकै क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको हो। भर्नाका सम्बन्धमा प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद उत्पन्न भएको हो।

विद्यालयको प्राङ्गणमै प्राचार्यमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

सार्वजनिक भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्तीले प्रहार गरेको देखिन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सो घटनालाई गम्भीर रूपमा लिएको थियो।

असोज २६, २०८३ सोमबार ०९:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।