गोरखा-बुढीगण्डकी आकस्मिक बाढीको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहितको टोली परिचालित
काठमाडौँ : गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट आएको गेग्रानले स्यारखोला थुनिएर फुट्दा बुढीगण्डकी नदीमा लेदोसहित आएको बाढीका कारण ५ जना हराइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्लिङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्। बाढीले व्यापक भौतिक क्षति पुर्याएको देखिन्छ।
आइतबार बेलुकासम्मको विवरण अनुसार ४५ घर पूर्ण क्षति र २७ घर आंशिक क्षति भएका छन्। २ पक्की पुल र २ झोलुङ्गे पुल ढलेका र क्षतिग्रस्त भएका छन्। अन्य क्षतिमा ३ जलविद्युत् आयोजना, ४ हवन कुण्ड, ३४ गोठ, १२ बङ्गुरको खोर/गोदाम तथा ३ वटा सवारी साधनमा क्षति पुगेको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रबाट ९ जना विदेशीसहित कुल ८२ जनाको नेपाली सेनाको ४ वटा हेलिकोप्टर परिचालन गरी उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाका ३ वटा स्पेशल फोर्ससहित १ सय ७१, नेपाल प्रहरीका १ सय ४३ र सशस्त्र प्रहरी बलका ३ सय ८९ जना गरेर ७ सय ३ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।
प्रभावित क्षेत्रमा सडक र हेलीमार्फत टेन्ट, त्रिपाल, म्याट्रेस, ब्लाङ्केट, स्लिपिङ ब्याग, सोलार लाइट, किचन सेट, जेनेरेटर, ज्याकेट, हाइजिन किट, फुड बास्केट, बेबी बास्केट र रोयल ब्याग पठाएको प्राधिकरणले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको ३ जनाको टोली परिचालन गरिएको र गोरखा, लमजुङ र तनहुँका अस्पताल तथा द्रुत प्रतिकार्य टोलीहरूलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जानकारी दिएको छ।
आइतबार बिहानै बुढिगण्डकीमा एक्कासि बाढी आएको थियो। बाढीको आकार निकै ठूलो भए पनि समयमा प्रभावित क्षेत्रमा सूचना पुग्दा ठूलो मानवीय क्षति हुन पाएन।
असोज २५, २०८३ आइतबार २०:२१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।