नेपाली कांग्रेस १५ औँ महाधिवेशन: ४,६०० मत गणना सकिँदा उपसभापति, महामन्त्री र समावेशीतर्फ कसको कति मत?
काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत जारी मतगणनामा कुल ४,६०० मत गणना सकिँदा उपसभापति र महामन्त्रीमा फराकिलो मतान्तर देखिएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार उपसभापति (खुलामा चन्द्र भण्डारी प्रतिस्पर्धी भन्दा निकै अगाडि छन्। महामन्त्रीमा प्रदीप पौडेलले पनि आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पारेका छन्।
उपसभापति (खुल्ला तर्फ) चन्द्र भण्डारी २३४३ र मधु आचार्यले १४४१ मत पाएका छन्। यी दुबैलाई पछ्याइरहेका गोविन्द भट्टराईको १२१९, गण्डकीका मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डेको ११५०, पूर्व उपसभापति धनराज गुरुङको १०५३, दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत पाएका छन्।
उपसभापति (समावेशी)मा विनोद कुमार चौधरी र जीवन परियारबिच कडा प्रतिस्पर्धा देखिएको छ। नेपालका एक मात्र अर्बपतिका रूपमा परिचित चौधरी समावेशी कोटामा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। उनले ११४५ मत पाएका छन्।
उनलाई जीवन परियारले ११०७ मतसहित पछ्याइरहेका छन्। अन्यमा सीता गुरुङको ७४९, फरमुल्लाह मंसुरको ६३७ र रञ्जित कर्णले ३५२ मत पाएका छन्।
खुल्लातर्फको महामन्त्रीमा प्रदीप पौडेलले भारी मतका साथ बलियो अग्रता लिएका छन्। उनी १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएर विशेष महाधिवेशनबाट सोही पदमा सर्वसम्मत भएका थिए। विशेष महाधिवेशनबाट महामन्त्रीमा सर्वसम्मत भएका गुरुराज घिमिरे पनि निकै पछाडि छन्।
पौडेलको २६५७, उदय शमशेर राणाको १४९१, डा. सुनिलकुमार शर्माको १३८७, अमरसिंह पुन मगरको ९२९, गुरुराज घिमिरेको ९२०, नैन सिंह महरको ६६८ र शंकर तिवारीले ८८ मत पाएका छन्।
महामन्त्री (महिला) मा डा. डिला सङ्ग्रौला (पन्त) ले अग्रता लिएकी छिन्। तर प्रतिस्पर्धा रोचक देखिन्छ। डा. डिला सङ्ग्रौला (पन्त) ले २०३७ मत पाउँदा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले १८३८ मत पाएकी छिन्। रीता खनालले ४६६ मत पाएकी छिन्।
पदाधिकारीमा यस अगाडि नै गगन थापा निर्वाचित भइसकेका छन्। अन्य पदको मत गणना नै सुरु भएको छैन।
असोज २५, २०८३ आइतबार १९:४५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।