कांग्रेसको मतगणना फूलपाती अगाडि सकिन हम्मे
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना फूलपाती अगाडि सक्न हम्मे पर्ने देखिएको छ। केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीका अनुसार धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणना सक्न एक सातासम्म लाग्न सक्छ।
सभापतिको मतगणना सकेर अहिले उपसभापति र महामन्त्रीको मत गन्ने काम सानेपास्थित पार्टी कार्यालयमा भइरहेको छ। पराजुलीले उपसभापति र महामन्त्री पदको मतगणना सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
“आधिकारिक रूपमा यति नै दिन लाग्छ भनेर भन्ने अवस्था छैन तर ५ देखि ७ दिन लाग्ने नै देखिन्छ” उनले भने। पराजुलीले मतगणनाको गति बढाउन थप जनशक्ति परिचालन गर्ने र मतगणनास्थलको सङ्ख्या बढाउने तयारी भइरहेको जानकारी दिए।
असोज २५, २०८३ आइतबार १८:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।