बुढीगण्डकीको बाढीले पुल, बस्ती र जलविद्युत् आयोजनामा ठूलो क्षति

बुढीगण्डकीको बाढीले पुल, बस्ती र जलविद्युत् आयोजनामा ठूलो क्षति

काठमाडौं : गोरखाको सिरिङ्गे हिमालबाट खसेको पहिरोले थुनिएको उनगुलुङ खोला फुट्दा बुढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका तटीय बस्ती, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ।

चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा बिहान करिब साढे ५ बजे सिरिङ्गे हिमालबाट पहिरो खसेको थियो। तर, बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखामा छिटपुट मात्र वर्षा भए पनि भीषण बाढी आउने गरी वर्षा भएको छैन।

हेलिकप्टरमार्फत उद्धार
बाढी बस्ती तथा जलविद्युत् आयोजनामा पसेपछि जोखिममा परेका २७ जना नागरिकलाई उद्धार टोलीले सुरक्षित स्थानमा सारेको छ। 

धार्चे गाउँपालिका-१ यारुबगरमा बाढीका कारण फसेका १८ जना स्थानीय तथा जलविद्युत् आयोजनाका कामदारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। 

त्यसैगरी, चुमनुव्री गाउँपालिका- ३ न्याकफेदीबाट ९ जना स्थानीयलाई उद्धार गरी सुरक्षित रूपमा न्याकगाउँ सारिएको छ।

पक्की र झोलुङ्गे पुल बग्दा सडक सम्पर्क विच्छेद
बाढीले गोरखा र धादिङ जोड्ने मुख्य सडकसहित स्थानीय पदमार्गका चार वटा पुल बगाएको छ। आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ। 

यस्तै, आरुघाट-९ नयाँपुलस्थित गोरखाको आरुघाटबाट र धादिङ जोड्ने तीन भागमा रहेको पक्की पुलमध्ये गोरखातर्फको एक भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरोध भएको छ। 

पदमार्गअन्तर्गत चुमनुव्री गाउँपालिका-३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढीले बगाएको छ।

तीन जलविद्युत् आयोजनामा क्षति
बाढीले गोरखामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् पूर्वाधारमा समेत क्षति पुर्याएको छ। चुमनुव्री गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावर हाउस र वरपर रहेका ७/८ वटा घर बाढीले बगाएको छ।

साथै धार्चे गाउँपालिका-१ को यारु बगर र दोभानमा रहेका जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्याएको छ।

चुमनुब्रीमा भवन तथा गोठ बगे, दर्जनौं घर जोखिममा
चुमनुव्री गाउँपालिकाका विभिन्न बस्तीहरूमा घर, गोठ तथा सार्वजनिक भवनहरू बगेका छन्। वडा नम्बर ३ घट्टेखोलामा विकास गुरुङको पाँच कोठे भवन, सपना गुरुङको एक कच्ची घर, भैवा गुरुङका दुई वटा कच्ची घर तथा दूधपोखरी आमा समूहको तीन कोठे भवन बाढीले बगाएको छ। 

सोही ठाउँका बहादुर गुरुङको घरमा बाढी पसेको छ भने सिर्दिबासमा रामबहादुर गुरुङको कच्ची घर बगेको छ। यस्तै चुमनुव्री-३ कै पैयुँमा ६ देखि ७ घर र बगरमा ५ देखि ६ घर पुरिएका छन् भने सल्लेरीका २० देखि २२ घर बाढीको जोखिममा परेका छन्। हिमपहिरो प्रभावित उइनगुलुङ क्षेत्रमा ३ देखि ४ वटा गोठ बगेका छन्।

धार्चे र आरुघाटका तटीय बस्तीमा बाढीको प्रभाव
बाढीको प्रभाव तल्लो तटीय क्षेत्र धार्चे र आरुघाटका बस्तीहरूमा पनि परेको छ। धार्चे-५ माछिखोलाको तल्लो बस्तीका करिब ५ देखि ७ घर र ५ देखि ७ वटा टहरामा बाढी पसेको छ। 

त्यहाँ किराना सामान भण्डारण गरिएका चार वटा स्टोर तथा १० देखि १२ वटा बङ्गुरका खोर पुरिएका छन्। यसैगरी वडा नम्बर १ को यारुबगरमा १० देखि १२ घर र दोभानमा ५ देखि ६ घरमा क्षति पुगेको छ भने आरुघाट गाउँपालिका-३ सोतीका करिब १४ देखि १५ वटा घरमा बाढी पसेको छ।

असोज २५, २०८३ आइतबार १५:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।