कांग्रेस पदाधिकारीको मतगणना : उपसभापति र महामन्त्रीमा को-को अगाडि?
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी पदाधिकारीको मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी अगाडि देखिएका छन्।
त्यसैगरी महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त)ले अग्रता कायम गरेका छन्। कूल खसेको सात हजार ४३ मतमध्ये दुई हजार २३१ मत गणना हुँदा उक्त परिणाम आएको हो।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार दुई पदका लागि भएको उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी एक हजार ५७ मतसहित पहिलो र ई. मधु आचार्य ७१२ मतसहित दोस्रो स्थानमा छन्।
सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ तथा प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
उपसभापति समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरी ६१५ मत ल्याएर पहिलो स्थानमा छन्। उनलाई जीवन परियारले ५७८ मतका साथ पछ्याइरहेका छन्। सोही समूहमा सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।
महामन्त्रीमा खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल एक हजार ३८१ मतका साथ अग्रस्थानमा छन् भने उदय शमशेर राणा ७८६ मतसहित दोस्रो स्थानमा रहेका छन्। अन्य प्रतिस्पर्धी अमरसिंह पुनले ६९५, डा. सुनिल कुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
यस्तै महामन्त्री महिलातर्फ एक पदमा डा. डिला सङ्ग्रौला (पन्त) ले ९६५ मतसहित अग्रता लिएकी छन्। उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मतका साथ टक्कर दिइरहेकी छन्। सोही पदकी अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्। निर्वाचन समितिका अनुसार बाँकी मतहरूको गणना जारी रहेको छ।
असोज २५, २०८३ आइतबार १४:०६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।