बूढीगण्डकीमा आकस्मिक बाढी : दर्जनौँ घर र पुल बगे, मनास्लु क्षेत्रका सयौँ पर्यटक अलपत्र
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोला र उङ्गीलुङ (विङ्गिलुङ) खोलामा पहिरो खसेर थुनिएपछि बूढीगण्डकी नदीमा आइतबार बिहानै भीषण आकस्मिक बाढी आएको आँकलन गरिएको छ। नेपाली सेनाको स्थलगत अनुगमनमा बाढीको प्रारम्भिक कारण पहिरोबाट नदी थुनिएको देखिएको हो।
भोटेकोशी बाढीमा जस्तै बुढीगण्डकीको बाढीमा पनि कालोमाटो र गेग्रानहरु मिसिएको लेदोसहितको पानी आएकाले बाढीको कारण यही हो भनेर पक्का भने भइसकेको छैन।
बिहान करिब ४ बजे आएको बाढीका कारण तटीय क्षेत्रका दर्जनौँ घर, जलविद्युत् आयोजना, झोलुङ्गे तथा पक्की पुलहरू बगेका छन्। मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
३५ देखि ४० घर बगाएको अनुमान, बस्ती र भौतिक संरचनामा व्यापक क्षति
बाढीले जगत बगर, सल्लेरी र घट्टेखोला क्षेत्रका ३५ देखि ४० वटा घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ। सल्लेरीस्थित निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प साइट र उपकरणहरू बाढीले बगाएको छ।
यस्तै, धार्चे गाउँपालिका-५ माछाखोलाका ५–७ घर तथा टहरामा बाढी पसेको छ भने सल्लेरीका २०-२२ घर उच्च जोखिममा परेका छन्। बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुल, आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीखोलाको फलामे पुल, न्याक्चेत-सिर्दिबास झोलुङ्गे पुल, लोक्पाको झोलुङ्गे पुल र माछाखोला-केरौंजा जोड्ने पुल पूर्ण रूपमा बगाएको छ।
उद्धारमा हेलिकप्टरको प्रयोग
बाढीपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार कार्य तीव्र पारिएको छ। धार्चे गाउँपालिका–१ यारुबगरमा बीच बाटोमा फसेका स्थानीय र हाइड्रोका कामदार गरी १८ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। जगत इलाकाबाट ६ जनाको हवाई उद्धार भएको छ।
चुम्लिङतर्फ जाने बाटोमा रहेका ४ देखि ५ जना गोठाला भने हालसम्म सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन र प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान माइकिङ गरिरहेका छन्।
मनास्लु पदमार्ग ठप्प
बाढी र पहिरोले पदमार्ग तथा पुलहरू बगाएपछि मनास्लु क्षेत्र घुम्न आएका विदेशी तथा आन्तरिक पर्यटकहरू बीच बाटोमै रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार जगतमा करिब ११५ र लोक्पामा करिब ४० जना पर्यटक सुरक्षित रूपमा बास बसेकै ठाउँमा छन्।
जगत बगरदेखि फिलिमसम्मको बाटो क्षतिग्रस्त भएकाले पर्यटकहरूलाई सुरक्षित स्थानमै रोकिएका छन्। लोक्पाको झोलुङ्गे पुल बगेका कारण चुमभ्यालीतर्फको पदयात्रा पूर्ण रूपमा ठप्प भएको छ।
आरुघाटमा बेलीब्रिज राखिने
सडक विभागका अनुसार गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २५ मिटर आरसीसी भागमध्ये २२ मिटर भाग बाढीले बगाए पनि ६० मिटर लामो ट्रस संरचना बाँकी नै रहेकाले त्यहाँ बेलीब्रिज राखेर यातायात सञ्चालन गर्न सकिने सम्भावना छ। यस सम्बन्धमा प्राविधिक मूल्याङ्कन भइरहेको विभागले जनाएको छ।
हाल बाढीको बहाव केही सामान्य हुँदै गएको छ भने क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ।
असोज २५, २०८३ आइतबार १३:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।