मौसम विभाग भन्छ : ‘बाढी आउने गरी गोरखामा ठूलो वर्षा भएको छैन’

मौसम विभाग भन्छ : ‘बाढी आउने गरी गोरखामा ठूलो वर्षा भएको छैन’

काठमाडौं : बुढीगण्डकी नदीमा बाढी आएको गोरखा क्षेत्रमा पछिल्लो २४ घण्टामा ठूलो वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकाअनुसार गोरखा जिल्लामा बाढी आउने गरी पानी परेको छैन, त्यहाँ हल्का वर्षा मात्र मापन भएको छ।

विभागको पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार देशभर कतै ठूलो वर्षा भएको छैन। यस अवधिमा सिरहामा २७.८ मिलिमिटर र बागलुङमा १७.४ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ।

तर, गोरखाको चुमनुव्री गाउँपालिकास्थित चुम्चेत क्षेत्रबाट आइतबार बिहान बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान शाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बुढीगण्डकी नदीमा आएको बाढी आरुघाटमा तीन चरणमा पुगेको थियो।

दोस्रो चारणमा बिहान ७ बजेर ५० मिनेटमा आएको बाढीले आरुघाटमा खतराको तहसम्म पुगेको थियो। बाढी प्रभावित क्षेत्रमा वर्षा नभएकाले यसको यकिन कारण पत्ता लगाउन अध्ययन भइरहेको पराजुलीले बताए।

मानव बस्तीभन्दा माथिल्लो हिमाली क्षेत्रबाट सुरु भएको बाढीको कारणबारे अध्ययनपछि साँझसम्म विस्तृत विवरण खुल्ने उनको भनाइ छ। बाढीले चुमनुव्री लगायत माथिल्लो क्षेत्रमा भौतिक क्षति पुर्याए पनि आरुघाट र त्योभन्दा तल्लो क्षेत्रमा अहिलेसम्म ठूलो असर नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

यद्यपि नदीमा बहाव घटबढ भइरहेकाले आइतबार साँझसम्म त्रिशूली दोभानसम्म उच्च सतर्कता अपनाउन र बुढीगण्डकी करिडोरको आवागमन बन्द गर्न आग्रह गरिएको छ।

असोज २५, २०८३ आइतबार १०:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।