बुढीगण्डकीमा तीन चरणमा आयो बाढी; दोस्रो चरणले नाघ्यो खतराको तह, बाढीको कारणबारे अध्ययन हुँदै
काठमाडौं : गोरखाको चुमनुव्री गाउँपालिकास्थित चुम्चेत क्षेत्रबाट बुढीगण्डकी नदीमा आएको बाढी आइतबार बिहान तीन चरणमा आएको छ। त्यसमध्ये दोस्रो चरणको बहाव खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।
नदीमा बहाव घटबढ भइरहेकाले आइतबार साँझसम्म नै त्रिशूली दोभानसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र बुढीगण्डकी करिडोरको आवागमन बन्द गर्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाका बाढीविद् विनोद पराजुलीले आरुघाटमा बिहान ६ बजेर ३० मिनेट आसपास पहिलो चरणको सानो बाढी आएको जानकारी दिए। त्यसपछि बिहान ७ बजेर ५० मिनेटमा आएको दोस्रो बाढी आरुघाटमा खतराको तहसम्म पुगेर घटेको थियो भने त्यसलगत्तै फेरि तेस्रो चरणको बाढी देखिएको उनले बताए।
बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्याए पनि आरुघाट र त्योभन्दा तल्लो तटीय क्षेत्रमा अहिलेसम्म ठूलो असर नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ। यद्यपि, विभिन्न चरणमा बाढी आउने क्रम जारी रहेकाले तातोपानी, माछीखोला, आर्खेत र आरुघाट लगायत नदी छेउछाउका होचा बस्तीका घरहरू छोडेर सुरक्षित तथा अग्लो स्थानमा बस्न अपिल गरिएको छ।
बाढीको यकिन कारणबारे अध्ययन भइरहेको जानकारी दिँदै पराजुलीले भने, “यो बाढी मानव बस्तीभन्दा माथिल्लो हिमाली क्षेत्रबाट सुरु भएको देखिन्छ। पहिरोले नदी थुनिएर हो वा हिमाली क्षेत्रमा अन्य कुनै कारणले बाढी सिर्जना भएको हो भन्नेबारे अध्ययन भइरहेको छ। आज बेलुकीसम्म यसको तथ्य खुल्नेछ।”
बाढी पूर्वानुमान शाखाले तल्लो तटीय क्षेत्रमा बिहानै पूर्व सूचना तथा एसएमएस पठाइसकेको र नदीको जोखिम कम नहुँदासम्म स्थानीय तह तथा प्रशासनसँग निरन्तर समन्वयमा रही बाढी अवस्थाको निगरानी गरिरहेको जनाएको छ।
असोज २५, २०८३ आइतबार ०९:२८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।