बूढीगण्डकीमा बाढीको वितण्डा : तीन पुल बगे, तटीय बस्ती जोखिममा

बूढीगण्डकीमा बाढीको वितण्डा : तीन पुल बगे, तटीय बस्ती जोखिममा

काठमाडौं : बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका विभिन्न स्थानमा तीन वटा पुल र घरटहरा बगाउनुका साथै तटीय बस्तीमा क्षति पुर्याएको छ।

गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित फुटेपछि बाढी आएको प्रहरीले जनाएको हो।

बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको प्रहरीले जनाकारी दियो। त्यसैगरी चुमनुव्री गाउँपालिका-३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

बाढीले चुमनुव्री गाउँपालिका-३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको छ भने अर्को एउटा घरमा बाढी पसेको छ। यस्तै, धार्चे गाउँपालिका-५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटा घर र ५ देखि ७ वटा बाढीमा फसेका छन्।

बाढीको बहाव उच्च भएकाले धार्चे गाउँपालिका-३ सल्लेरीस्थित २० देखि २२ वटा घर जोखिममा परेको प्रहरीले जनाएको छ। सोती बजार क्षेत्रमा पनि केही टहराहरूमा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

असोज २५, २०८३ आइतबार ०८:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।