देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावका कारण आइतबार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हिमाली भूभागमा अहिले साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आइतबार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी, आइतबार राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ।
असोज २५, २०८३ आइतबार ०८:०२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।