बूढीगण्डकी नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बूढीगण्डकी नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : गोरखाको चुमनुव्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहानैदेखि लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ। माथिल्लो भेगमा पानी परेको नदिए पनि नदीमा भने बाढी आएको छ।

बाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने जोखिम बढेपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चुमनुब्री गाउँपालिका-६ र ७ स्थित चुम्चेत क्षेत्र भएर बग्ने उग्युलुङ र स्यार खोलामा शनिबार बिहान ४ बजेको आसपास ठूलो आवाजसहित बाढी सुरु भएको थियो।

बाढीको जोखिम बढेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा र पर्यटकहरू तत्कालै सुरक्षित तथा उँचो स्थानतर्फ सरेका छन्। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको छैन।

बाढी पूर्वानुमान महाशाखाले भनेको छ, “बुढीगण्डकी नदीको चुमनुव्री गाउँपालिका- ६ बाट ठूलो बाढी आइरहेकोले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजाऔं। उच्च स्थानमा बसौं।”

असोज २५, २०८३ आइतबार ०७:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।