सभापतिमा चुनिएपछि गगनको सन्देश : ‘नेतृत्व नयाँ आउँदैमा कांग्रेस बदलियो भन्ने भ्रममा नपरौं’

सभापतिमा चुनिएपछि गगनको सन्देश : ‘नेतृत्व नयाँ आउँदैमा कांग्रेस बदलियो भन्ने भ्रममा नपरौं’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनको परिणामसँगै जित र हारको विषय समाप्त गरी अब पार्टी पंक्ति नागरिकको विश्वास जित्ने महाअभियानमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले महाधिवेशनको नतिजा कुनै व्यक्तिगत विजय नभई पार्टीलाई रूपान्तरण गर्ने सङ्कल्प र परिवर्तनप्रतिको विश्वास भएको बताए।

आफू विजयी भावले नभई जिम्मेवारीको अनुभूतिका साथ प्रस्तुत भएको उल्लेख गर्दै थापाले महाधिवेशन प्रतिनिधिहरूले सुम्पेको विश्वासलाई अधिकार नभई गहन जिम्मेवारीका रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूले कुनै ‘चमत्कार’ गर्ने वाचा नगर्ने, तर पार्टी हितका लागि कठिन प्रश्नहरूबाट नभागी, कठोर निर्णय लिन नहिचकिचाई इमानदार प्रयत्न जारी राख्ने उनको भनाइ थियो।

उनले भनेका छन्, "यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईंहरूसँग वाचा गर्दिनँ। तर, म इमानदार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ। म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ। तपाईंहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्नँ। म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु।"

नेतृत्व परिवर्तन हुँदैमा वा अधिवेशन सम्पन्न हुँदैमा पार्टी स्वतः बदलियो भन्ने भ्रममा पर्न नहुने उनको धारणा थियो। थापाले कांग्रेस रूपान्तरणका लागि संस्कार, सोच्ने शैली, सङ्गठन सञ्चालन, निर्णय प्रक्रिया र जवाफदेहिता वहन गर्ने प्रणाली नै बदल्नुपर्ने बताए। 

उनले भने, "नेपाली कांग्रेसको अधिवेशन नयाँ भयो, हामी बदलियौं- यो भ्रम तपाईंलाई पनि छैन, मलाई पनि छैन। नेपाली कांग्रेसमा सभापति नयाँ आयो, आउनासाथ आफैँ सबै कुरा बदलियो- यो भ्रम हामीलाई होइन।"

विशेष अधिवेशनबाट अघि सारिएको रूपान्तरणको सङ्कल्पलाई १५औँ महाधिवेशनले संस्थागत रूपमा अनुमोदन गरेको उनले बताए। आन्तरिक प्रतिस्पर्धालाई जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने दृष्टिकोणबाट हेर्न नहुने थापाको धारणा छ। आफूसँग सभापति पदमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति आभार प्रकट गर्दै उनले यस प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न मद्दत पुर्याएको बताए।

असोज २४, २०८३ शनिबार १५:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।