हिमालदेखि समुद्रसम्म जलवायु सहकार्यमा नेपालको जोड
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए।
बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको जानकारी दिँदै खनालले ‘प्रि-कोप लिडर्स प्लेनरी’मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको बताए।
कोप-३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिएका थिए। आगामी नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप-३१ आयोजना हुँदै छ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्व सूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार र प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको थियो। यसैगरी, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।
असोज २४, २०८३ शनिबार १४:२९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।