दिल्ली एयरपोर्टमा विमानभित्रै कक्रोच जनता पार्टीका तीन नेता पक्राउ

दिल्ली एयरपोर्टमा विमानभित्रै कक्रोच जनता पार्टीका तीन नेता पक्राउ

एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सह-संयोजकद्वय आशुतोष रांका र सौरभ दासलाई दिल्ली प्रहरीले एयरपोर्टमा विमानभित्रै पक्राउ गरेको छ।

जन्तरमन्तरमा हुने प्रदर्शनमा सहभागी हुन मुम्बईबाट दिल्ली जाँदै गरेका उनीहरूलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको हो।

सीजेपीले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार तीनै नेतालाई शनिबार दिल्लीमा विमानबाटै डिटेन गरिएको हो। दिल्ली एयरपोर्ट पुगेपछि दीपके सामाजिक सञ्जालमा लाइभ आएका थिए। त्यसैबीच उनलाई हिरासतमा लिइएको हो।

हिरासतमा लिन महिला प्रहरी अगाडि सारिएपछि दीपके र उनका साथीले पुरुष प्रहरी पठाउन माग गरे। हिरासतमा लिइँदै गर्दा दीपकेले आफू पक्राउबाट नडराउने र त्यसका लागि तयार रहेको बताए।

उनले भने, “देश कुन दिशामा जाँदैछ हेर्नुहोस्। हामीलाई विमानमै हिरासतमा लिइँदैछ, यस्तो त इन्दिरा गान्धीले पनि गरेकी थिइनन्। यो तानाशाही हो, तर हामी यिनीहरूसँग डराउँदैनौँ।”

सीजेपीले यो कारबाहीलाई ‘तानाशाहीपूर्ण’ भन्दै तीनै नेतालाई तत्काल र बिनाशर्त रिहा गर्न माग गरेको छ। पार्टीले यसलाई आवागमनको स्वतन्त्रताको खुला उल्लंघन भनेको छ।

यसअघि चर्चित यूट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंह पनि पक्राउ परेका छन्। रत्ना सिंह यही विषयमा प्रदर्शन गरिरहेका वकिलहरूसँग जोडिन जाँदै गर्दा पक्राउ परेकी हुन्।

दिल्ली विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष रौनक खत्रीले पनि दिल्ली प्रहरीले आफूलाई हिरासतमा लिएको दाबी गरेका छन्।

असोज २४, २०८३ शनिबार ११:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।