ससुराले बुहारीलाई कुटपिट गर्दा चोट लागेर काखमा रहेका तीन महिने नातिको मृत्यु

ससुराले बुहारीलाई कुटपिट गर्दा चोट लागेर काखमा रहेका तीन महिने नातिको मृत्यु

दमक : झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ। घटनामा संलग्न एकै परिवारका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका अनुसार असोज २३ गते दिउँसो करिब १ बजेर २० मिनेटमा शिविरको सेक्टर डी-२ मा विवाद भएको थियो।

विवाद ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच भएको थियो। घरायसी विषयमा सुरु भएको विवादले झै-झगडाको रूप लिएको थियो।

प्रहरीका अनुसार झगडाकै क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई चोट लागेको थियो।

घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। दिउँसो २ बजेर ५ मिनेटमा उपचारका क्रममा उनको मृत्यु भयो।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

असोज २४, २०८३ शनिबार ११:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।