इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क नबढेको स्पष्ट पारेको छ।
स्वीकृत दरभन्दा बढी शुल्क लिने वा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले स्पष्टीकरण दिएको हो।
प्राधिकरणका अनुसार हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन। आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने बताएको छ। उसले तोकेको निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रावधान पनि स्मरण गराएको छ।
प्राधिकरणले स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन नगर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिने, पूर्वस्वीकृतिबिना शुल्क बढाउने र उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य गर्न कानुनले बन्देज लगाएको समेत स्मरण गराएको छ।
नियमविपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावलीअनुसार सेवा प्रदायकमाथि कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।
असोज २४, २०८३ शनिबार १०:३०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।