करिब ९५ प्रतिशत मतसहित गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा बहुमतले निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार उनले प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
समितिका अनुसार थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गरे भने खड्गीले ३ सय ७५ मत मात्र पाए।
महाधिवेशनमा कुल ७ हजार ३ सय १७ प्रतिनिधि रहेकामा ७ हजार १३ जनाले मतदान गरेका थिए। मतदान गर्नेमध्ये ६ हजार ९ सय ५९ मत सदर र ५४ मत बदर भएको समितिले जनाएको छ।
सभापति पदको मतगणना राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग स्थित सभा हलमा गरिएको थियो।
कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका-२०८३ बमोजिम महाधिवेशन अन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गतको मतदान कार्य समाप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी नतिजा घोषणा गरिएको हो।
नतिजा पत्रमा केन्द्रीय निर्वाचन समितिका सदस्य सुजन लोप्चन, सदस्य सचिव राजु कटुवाल र संयोजक प्रेमबहादुर खड्काले हस्ताक्षर गरेका छन्।
सदर मतको लगभग ९४.६ प्रतिशत मत थापाले प्राप्त गरेका छन्। करिब ९५.८ प्रतिशत प्रतिनिधिले मतदानमा भाग लिएका थिए।
असोज २४, २०८३ शनिबार ०७:००:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।