बुढानीलकण्ठको भंगालमा चिनियाँ गिरोहको सुन पगाल्ने कारखाना, ५४ करोडको सुनसहित तीन चिनिया पक्राउ

बुढानीलकण्ठको भंगालमा चिनियाँ गिरोहको सुन पगाल्ने कारखाना, ५४ करोडको सुनसहित तीन चिनिया पक्राउ

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा एउटा घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन तथा तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको प्रहरीले पर्दाफास गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गोप्य सूचनाको आधारमा गरेको सफल अपरेसनमार्फत साढे २१ किलोभन्दा बढी सुन र त्यसलाई प्रशोधन गर्ने अत्याधुनिक उपकरणसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा चिनियाँ नागरिकहरूले अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा ब्राभो गोल्फ’ नाम दिएर सुरक्षा अपरेसन चलाएको थियो। 

यसैक्रममा बिहीबार दिउँसो प्रहरी टोली बुढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भंगालस्थित शंकास्पद घरको वरपर खटिएको थियो। निगरानीकै क्रममा उक्त घरबाट बाहिरिन लागेको एउटा भाडाको कारलाई प्रहरीले रोकेर खानतलासी गर्दा गाडीभित्रै अन्दाजी दुई किलो सुन फेला परेको थियो। गाडीमा सुन फेला लगतै प्रहरी टोली घरभित्र प्रवेश गरेको थियो।

पक्राउ परेका तीन चिनिया नागरिक।घरभित्र प्रवेश गर्ने क्रममा पक्राउ पर्ने चिनियाँ नागरिकहरूले प्रहरीलाई लुटेरा वा अन्य समूह ठानेर हातपातको प्रयाससमेत गरेका थिए। तर प्रहरीले आफ्नो परिचय दिएपछि उनीहरू रोकिएका थिए। 

२१.७५० किलोग्राम सुन र प्रशोधन गर्ने कारखाना
प्रहरीले छापा मार्दा सुरुमा अनुमान गरिएभन्दा धेरै परिमाणमा सुन र सुन गाल्ने तथा आकार दिने मेसिनहरू फेला परेका थिए। बरामद भएको कुल सुनको बजार मूल्य करिब ५४ करोड ६० लाख रुपैयाँ रहेको छ।

प्रहरीका अनुसार सो घरबाट तयारी अवस्थाको ११ वटा सुनको बिस्कुट फेला परेका छन्। त्यसको तौल १०.९९७ किलोग्राम रहेको कार्यालयले जानकारी दियो। अर्धठोस/लेसिलो अवस्थामा प्लास्टिकमा र्याप गरिएको अवस्थामा १०.७५२ किलोग्राम सुन फेला परेको हो। दुवैको तौल जोड्दा २१.७५० किलोग्राम निस्कियो।

प्रहरीले सो घरबाट सुन सुकाउने (ड्रायर), पगाल्ने (मेल्टिङ), आकार दिने र चिस्याउने मेसिनहरू तथा विभिन्न रसायन समेत फेला पारेको छ।

सुन पगाल्ने प्रयोग गरिएका सामग्री।तस्करी गर्दा अर्धठोस वा लेसिलो अवस्थामा हवाई मार्गबाट ल्याउने र त्यस घरमा विभिन्न मेसिन तथा केमिकल प्रयोग गरी शुद्धीकरण गरेर ठोस बिस्कुटको आकार दिने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

घटनास्थलबाट प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरू हान फेइ,  वाङ जियानझेन  र झोउ लोङक्विन रहेको कार्यालयका प्रमुख सन्तोष खड्काले बताए।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका हान फेइ यसअघि भदौ महिनामा पनि नेपाल आएर बजारको अवस्था अवलोकन गरी फर्किएका र पछि पुनः सुन प्रशोधनका लागि नेपाल आएको खुलेको प्रहरीको भनाई छ। उनीहरूले विमानस्थलबाटै दैनिक आठ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको कार सुन ओसारपसारमा प्रयोग गर्ने गरेका थिए।

संगठित तस्कर शैली: चीनबाट ‘वीच्याट’मार्फत निर्देशन

यो सुन तस्करी सामान्य नभई निकै संगठित र अन्तर्राष्ट्रिय सञ्जालमार्फत सञ्चालित रहेको प्रहरीको निष्कर्ष छ। यसका लागि माथिल्लो भंगालस्थित उक्त घर गत साउन ८ गते चिनियाँ नागरिक सु कान (छु क्यान) ले चार महिनाका लागि मासिक ३ लाख ३० हजार रुपैयाँका दरले भाडामा लिएको खुलेको छ। उनले चार महिनाकै अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ बुझाएका थिए।

घर भाडामा लिएर साउन ३० गते चीन फर्किएका सु कानले घरको चाबी अर्का चिनियाँ नागरिक झेन जिया ली लाई दिएका थिए। त्यसपछि जेन जिया लीले हान फेइलाई चाबी दिएर नेपाल पठाएका थिए।

चिनिया नागरिकबाट बरामद सामग्री।चीनको ग्वाङ्झाउमा बस्ने जेन जिया ली यस सुन तस्करीका प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ। उनले नेपालमा रहेका चिनियाँहरूलाई ‘वीच्याट’ एपमार्फत सम्पर्क गरी सुन कहाँ पुर्याउने, कसलाई बुझाउने र कसरी कारोबार गर्ने भन्ने निर्देशन दिने गरेको एसएसपी खड्काले जानकारी दिए।

बरामद भएको सुन हङकङ तथा हवाई रुटमार्फत नेपाल भित्रिएको र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। 

असोज २३, २०८३ शुक्रबार २१:५०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।