स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच हुनुपर्नेमा जोड

स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच हुनुपर्नेमा जोड

दाङ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्न आवश्यक रहेको बताएकी छन्। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

मेहताले आर्थिक अवस्था कमजोर भएकै कारण जोकोही नागरिक पनि स्वास्थ्योपचारबाट वञ्चित हुन नहुने धारणा राखे। उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावकारी र गुणस्तरयुक्त हुनुपर्छ।”

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको जानकारी गराउँदै प्रतिष्ठानले यसै वर्षदेखि जलन र क्यान्सर उपचारसमेत सञ्चालनमा ल्याउने बताए।

यसैबीच स्वास्थ्यमन्त्री मेहताले आजै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको समेत उद्घाटन गरे। क्याथ ल्याबबाट आजदेखि नै सेवा उपलब्ध गराउन थालिएको छ। उनले अस्पताल र ल्याब सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने र यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई सहयोग पुग्ने विश्वास गरिएको छ। 

असोज २३, २०८३ शुक्रबार २१:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।