चोलेन्द्रसँग जोडिएका एआइजी वंशीराज दाहाल बर्खास्त
चोलेन्द्रसँग जोडिएका एआइजी वंशीराज दाहाल बर्खास्त
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि सुरक्षा सम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा रहेका सशस्त्र प्रहरी एआइजी वंशीराज दाहाल बर्खास्त भएका छन्।
सरकारले उनलाई आचरण र अनुशासनहीन काम गरेर संगठनको मान प्रतिष्ठामा आँच पूर्याउने काम गरेको भन्दै शुक्रवारकै मितिदेखि लागु हुनेगरि बर्खास्त गर्ने निर्णय गरेको हो।
नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा गएका दाहाल असोज २८ मा नियमित अवकाशमा जाँदै थिए। सरकारले चाहेमा एक वर्षको म्याद थप्न सक्ने प्रावधान अनुसार उनको म्याद थप्ने सिफारिस गृह मन्त्रालयमा पुगिसकेको थियो।
गृहले उनको एक वर्षको म्याद थप्ने तयारी गरिरहेकै बेलामा उनको सम्बन्ध चोलेन्द्र शमशेर राणासँग रहेको र उनले राणाका लागि सशस्त्र प्रहरीको कार्य विभाग प्रमुखको रूपमा पाएको सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहाएको खुलेपछि निलम्बनमा परेका थिए।
उनीबारे छानबिन गर्न सरकारले गठन गरेको एआइजी अञ्जनीकुमार पोखरेलले बिहीबारै उनले संगठनको आचरण विपरीत काम गरेको ठहर गर्दै कार्वाहीको सिफारिस गरेको थियो। सोही समितिको सिफारिस अनुसार दाहाल बर्खास्तमा परेका हुन्। सम्भवतः : सुरक्षा संगठनमा बर्खास्तीमा पर्ने उच्च तहका सुरक्षा अधिकारीमा उनी नै पहिलो हुन्।
के गरेका थिए दाहालले ?
दाहाल सशस्त्र प्रहरी अन्तर्गतको सबै कमान्ड हेर्ने कार्य विभागको प्रमुख थिए। कार्य विभागले सशस्त्र प्रहरीको सबै अपरेसन परिचालनसँगै भिआइपी र भिभिआइपीहरूको निवास र व्यक्तिगत सुरक्षा समेत गर्छ। प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको सुरक्षामा सशस्त्र प्रहरी खटिने गरेको छ।
उनीहरूको मुभमेन्टबारे सशस्त्र प्रहरी नियमित जानकार हुन्छ। दाहालले सोही चेन अफ कमान्ड अनुसार आफूलाई आएको प्रधानमन्त्री बालेन्द्र शाहदेखि अन्य उच्चपदस्थ नेताहरूको मुभमेन्ट लगायतका संवेदनशील सूचनाहरू चोलेन्द्र समसेर राणा निकट इनाम सापकोटालाई दिएका थिए।
प्रारम्भमा चोलेन्द्र पक्राउ परेपछि इनामबारे सूचना आएको थियो। इनाम पनि समातिए। इनामको मोबाइलबाट वंशीले उनलाई नियमित महत्वपूर्ण र संवेदनशील सुरक्षा सूचना दिने र इनामले सो सूचना चोलेन्द्रलाई फरवार्ड गर्ने गरेको देखिएपछि तत्काल गृह मन्त्रालयले उनलाई निलम्बन गरेर छानबिनका लागि समिति नै गठन गरेको थियो।
नाताका आधारमा वंशी चोलेन्द्र शमशेर राणाका ज्वाइँ पर्छन्। उनी सशस्त्र प्रहरी महानिरीक्षकको प्रतिस्पर्धी समेत थिए। तर सरकारले क्रमसङ्ख्या हेरेर नारायणदत्त पौडेललाई सशस्त्रको प्रमुखमा नियुक्त गरेपछि उनी एआइजी सीमित भएका थिए।
असोज २३, २०८३ शुक्रबार २०:२८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।