घटस्थापनादेखि काठमाडौं उपत्यकाका ६ स्थानबाट हुनेछ ग्यास बिक्री र सिलिन्डर सट्टापट्टा

घटस्थापनादेखि काठमाडौं उपत्यकाका ६ स्थानबाट हुनेछ ग्यास बिक्री र सिलिन्डर सट्टापट्टा

काठमाडौं : नेपाल एलपि ग्यास उद्योग संघले चाडपर्वका अवसरमा काठमाडौं उपत्यकाका ६ स्थानबाट खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउने तथा फरक ब्रान्डका सिलिन्डर सट्टापट्टा हुने जनाएको छ।

नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २५ गते घटस्थापनादेखि असोज ३१ गतेसम्म दैनिक बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने संघले जनाएको छ।

चाडवाडको समयमा काठमाडौं उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएको र एक-अर्को ब्रान्डको सिलिन्डर साट्ने व्यवस्था नहुँदा समस्या देखिएपछि यस्तो व्यवस्था गरिएको हो।

शुक्रबार संघका अध्यक्ष दिवान चन्दले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंको सिफलचौरमा एभरेष्ट र सुगम, पेप्सिकोलामा सगर, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने छ।

त्यस्तै काठमाडौंको सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा, श्रीकृष्ण र ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री वितरण गरिने संघले जनाएको छ। यी स्थानबाट काठमाडौं उपत्यकामा बिक्री वितरण हुने ग्यास सिलिन्डर मात्र साटफेर पनि हुने विज्ञप्तिमा उल्लेख छ।

भारतका विभिन्न रिफाइनरीहरूबाट अहिले एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै देशभर ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ।

असोज २३, २०८३ शुक्रबार १९:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।