दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि २१ अर्बभन्दा बढीको लगानी स्वीकृत
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले १० अर्ब ७५ करोड लागतको नारखोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८ दशमलव नौ मेगावाट) र १० अर्ब ४२ करोड लागतको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६ दशमलव ७२ मेगावाट)को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार बैठकले अरुण-३ जलविद्युत् परियोजना (९०० मेगावाट) ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट) सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।
बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने पनि निर्णय गरेको छ।
त्यसैगरी बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावहरू आवश्यकताअनुसार स्वीस च्यालेञ्ज विधिबाट प्रतिस्पर्धा गराइ अगाडि बढाउने गरी आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग तथा रोजगारी सृजना एवं आर्थिक विकासमा पुर्याउने योगदानलाई मध्यनजर गरी उक्त प्रकृतिका परियोजना विकासलाई प्राथमिकता दिने निर्णय गरेको छ।
असोज २३, २०८३ शुक्रबार १८:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।