बिटौरी जग्गा दर्ताका लागि समिति गठन गर्न मन्त्रिपरिषद्बाट गठन आदेश स्वीकृत
काठमाडौं : सरकारले २०औँ एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेसहित चार निर्णय सार्वजनिक गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, भूमि व्यवस्था, खेलकुद र न्याय प्रशासन मन्त्रालयबाट गरिएको प्रस्तावका आधारमा उक्त निर्णयहरू गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
त्यस्तै, सरकारले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बण्ड’सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ। बिटौरी जग्गामा बस्दै आएकाहरूको नाममा जग्गा दर्ता गर्न समिति गठनका लागि गठन आदेश स्वीकृत गरेको तिमिल्सिनाले जानकारी दिए।
नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह-न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गरेको उनले जनाकारी दिए।
असोज २३, २०८३ शुक्रबार १६:५६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।