हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सरकारी सेवा!
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताएका छन्।
हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए।
हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै तिमिल्सिनाले भने, “हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ। अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ।”
आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै उनले हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेकामा जोड दिए। देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भइरहेको उल्लेख गर्दै तिमिल्सिनाले यसको क्षेत्र र सेवा थप सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए।
असोज २३, २०८३ शुक्रबार १५:२८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।