सासुको नाममा कम्पनी, श्रीमतीको खाताबाट पैसा : यसरी भयो हिमालयन रिमा २४ करोडको ‘मनी लाउण्डरिङ’ !
काठमाडौं : सर्वसाधारण नागरिक र सरकारी बैंकहरूको समेत लगानी रहेको पुनर्बीमा कम्पनीबाट झन्डै २४ करोड रुपैयाँ हिनामिना गरी आफ्नै घर-परिवारभित्र घुमाएर ‘सेतो’ बनाइएको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दिपक भट्टसहित २० जना व्यक्ति र कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको संयुक्त छानबिनपछि बिचौलिया व्यापारी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र तत्कालीन सीईओ उपासना पौडेलसहितविरुद्ध मुद्दा दायर गरेको हो।
सरकारी वकिलले दायर गरेको ७६ पृष्ठको अभियोगपत्र अनुसार यो घोटालाको मुख्य योजनाकार व्यापारी दीपक भट्ट हुन् भने उनलाई कानुनविपरीत लाइसेन्स दिएर, नक्कली बिल सदर गरेर र आँखा चिम्लिएर उद्योगी शेखर गोल्छा, नियामकका पूर्वप्रमुख सिलवाल र उच्च कर्मचारीहरूले साथ दिएका थिए।
नक्कली ब्रोकरमार्फत २३ करोड ९२ लाख अपचलन
कुनै बीमा कम्पनीमा आफ्नो जीवन बीमा गराउँछ। भोलि ठूलो विपत्ति आइपर्दा क्षतिपूर्ति दिन सकियोस् भनेर ती बीमा कम्पनीहरूले आफ्नो जोखिम अर्को ठूलो कम्पनीमा लगेर सुरक्षित गर्छन्, जसलाई ‘पुनर्बीमा’भनिन्छ। नेपालमा यसैका लागि सरकारी र निजी क्षेत्रको लगानीमा ‘हिमालयन रि-इन्स्योरेन्स’ कम्पनी खोलिएको थियो।
जीवन बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा कुनै बिचौलिया वा दलाल (ब्रोकर) चाहिन्न, उनीहरू सिधै पुनर्बीमा कम्पनीसँग कारोबार गर्छन्। तर, व्यापारी दीपक भट्टले त्यहीँभित्रबाट करोडौँ रुपैयाँ निकाल्न एउटा चलाखीपूर्ण प्रपञ्च रचे।
भट्टले आफ्नी सासु अञ्जना नेपालको नाम अगाडि सारेर ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स’ नामको कम्पनी खोले।
नेपालका १४ वटा ठूला जीवन बीमा कम्पनीहरू (जस्तै: नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ आदि) ले हिमालयन रिसँग गरेको पुनर्बीमा व्यापार ‘हाम्रो एलियन्ट कम्पनीले मध्यस्थता गरेर ल्याइदिएको हो’ भन्दै झूटा कागज तयार गरे।
हिमालयन रिले एलियन्ट कम्पनीलाई कामै नगरी कमिसनबापत भन्दै पहिले २८ करोड रुपैयाँ पेस्की दियो। पछि त्यसमध्ये २३ करोड ९२ लाख रुपैयाँ कमिसन खर्च भएको भन्दै कागजात मिलाएर फर्स्यौट गरियो।
१४ बीमा कम्पनीका हाकिमले भने- ‘हामीलाई ब्रोकर चिन्दैनौँ’
छानबिन टोलीले जब नेपालका १४ वटा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग सोधपुछ गर्यो, तब ठूलो रहस्य खुल्यो।
नेपाल लाइफ, नेसनल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफलगायत सबै कम्पनीका सीईओहरूले लिखित कागज गर्दै भने, “हामीले जीवन बीमाको पुनर्बीमा गर्दा कुनै ब्रोकर राखेका छैनौँ, कानुनअनुसार ब्रोकर आवश्यक पनि पर्दैन। हामीले एलियन्ट ब्रोकर्सलाई चिनेका पनि छैनौँ र कुनै सम्झौता पनि गरेका छैनौँ। हाम्रो नाम बेचेर हिमालयन रिले कमिसन खर्च देखाएको भए त्यो सरासर गैरकानुनी र फर्जी हो।”
यसबाट के प्रमाणित भयो भने, हिमालयन रि-इन्स्योरेन्सले कामै नभएको ठाउँमा नक्कली कागजात खडा गरेर आफ्नो खाताबाट झन्डै २४ करोड रुपैयाँ दीपक भट्टको परिवारको कम्पनीमा पठाएको थियो।
कालो धन कसरी सेतो बनाइयो?
अनुसन्धानमा यो केवल आर्थिक अनियमितता मात्र नभएर संगठित रूपमा गरिएको ‘सम्पत्ति शुद्धीकरण’ भएको देखियो। अवैध रूपमा निकालिएको पैसा कसरी दीपक भट्टको हातमा पुग्नका लागि सात वटा चरणहरू पार गर्यो।
पहिलो चरणमा हिमालयन रि-इन्स्योरेन्सबाट २८ करोड रुपैयाँ पेस्कीका रूपमा सासु अञ्जना नेपाल अध्यक्ष रहेको ‘एलियन्ट ब्रोकर्स’को बैंक खातामा गयो भने दोस्रो चरणमा आर्थिक वर्ष सकिएको ५ महिनापछि पुरानो मिति (ब्याकडेट) राखेर फर्जी बिल र भौचर बनाइयो र २३ करोड ९२ लाख रुपैयाँ खर्च अनुमोदन गरियो।
तेस्रो चरणमा उक्त रकम गैरकानुनी हो भन्ने लुकाउन एलियन्ट कम्पनीले राज्यलाई ३ करोड ५८ लाख रुपैयाँ अग्रिम कर तिरिदियो, ताकि भोलि कसैले सोधे ‘कर तिरिसकेको वैधानिक नाफा हो’ भन्न पाइयोस्। अब चौथो चरणमा कर कटाएर बाँकी रहेको रकममध्ये २१ करोड १५ लाख रुपैयाँ सासु अञ्जना नेपाललाई ‘कम्पनीको नाफा (लाभांश)’ भनेर महालक्ष्मी विकास बैंकको खातामा हालिएको अभियोग पत्रमा उल्लेख छ।
पाँचौँ चरणमा सासु अञ्जनाले छोरीलाई दिएको भन्दै उक्त २१ करोड १५ लाख रुपैयाँ चेक काटेर आफ्नी छोरी (दीपक भट्टकी श्रीमती) आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंकको खातामा पठाइन् भने छैटौँ चरणमा श्रीमती आयुष्माको खाताबाट त्यो सम्पूर्ण रकम उनका श्रीमान् दीपक भट्टको सिद्धार्थ बैंकको खातामा सारियो।
अन्तिम चरणमा भट्टले त्यो पैसा आफ्ना पुराना बैंकिङ कर्जा तिर्न, व्यावसायिक साझेदार शंकरलाल अग्रवाल र जगदम्बा स्टिललाई भुक्तानी गर्न प्रयोग गरे।
कसले के बदमासी गरे ?
घटनाका मुख्य योजनाकार दीपक भट्टले आफ्नो नाम कतै नदेखिने गरी सासु, श्रीमती र साथीभाइका नाममा नक्कली कम्पनी र बैंक खाताहरू खोलेर बीमाको पैसा आफ्नो खल्तीमा हाले। उनी अहिले अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा सिन्धुपाल्चोक कागागारमा छन्।
नियामकका पूर्वअध्यक्ष रहेका सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा सुशासन कायम गराउने जिम्मेवारी पाएका तत्कालीन अध्यक्ष सिलवालले एलियन्ट कम्पनीको पुँजीको स्रोत के हो, सञ्चालक को हुन् भन्ने कुनै जाँचबुझ नगरी गैरकानुनी रूपमा ब्रोकरको लाइसेन्स दिए। उनले नै यो ठगीको बाटो खोलिदिएको अभियोगपत्रमा उल्लेख छ।
हिमालयन रि-इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू (रोहित गुप्ता, अमित मोर, साहिल अग्रवाल, सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजीव मोर र साक्षी बंशल गुप्ता) ले सर्वसाधारण र राज्यको लगानी भएको संस्थाको पैसा सुरक्षा गर्ने आफ्नो कानुनी कर्तव्य पूरा गरेनन्। उल्टै, बोर्ड बैठकबाट ती नक्कली खर्च र फर्जी वार्षिक प्रतिवेदनहरू आँखा चिम्लिएर पास गरिदिए।
मासिक ३० लाख रुपैयाँ तलब खाने तत्कालीन सीईओ उपासना पौडेलले कुनै जाँचबुझ नगरी फर्जी हिसाब मिलान गरिदिइन्। भारतीय नागरिक रहेका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्तिले बिना आधार २८ करोड पेस्की दिएका थिए भने कार्यकारी निर्देशक मनिष कुमारले फर्जी भौचर सदर गरेका थिए।
सहयोगी मनोज कुमार अग्रवालले अञ्जना नेपालको नाममा एलियन्ट कम्पनी खोल्न सुरुवाती २ करोड ४० लाख रुपैयाँ हालिदिएका थिए। साथै, दीपक भट्टलाई चढ्नका लागि आफ्नो कम्पनी ‘फक्स ट्राभल्स’को नाममा मर्सिडिज बेन्ज कार (बा १९ च ३४०६) किनेर दिएका थिए। त्यो गाडी प्रहरीले दीपक भट्टकै कार्यालयबाट बरामद गरेको छ।
अदालतमा के-के माग गरको छ?
सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियुक्तहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। बीमा ऐनअनुसार ३ देखि ५ वर्ष कैद र सम्पत्ति शुद्धीकरण ऐनअनुसार २ देखि १५ वर्षसम्म थप कैद सजाय माग गरिएको छ भने अपचलन भएको २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ बिगो कायम गरी जफत गर्न माग गरिएको छ।
यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ शुद्धीकरण गरिएको रकमको दोब्बर जरिवाना माग गरिएको छ भने पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालसँग २ करोड ४० लाख रुपैयाँ बिगो माग गरिएको छ।
यसका अलावा दीपक भट्टले चढ्ने मर्सिडिज बेन्ज लक्जरी कार जफत गर्न, श्रीमती आयुष्मा नेपाल भट्टको नाममा विभिन्न बैंकमा रहेको करोडौँ नगद र १ लाख ६५ हजार कित्ता शेयर जफत गर्न, सासु अञ्जना नेपालको नाममा रहेको एलियन्ट कम्पनीको ४ करोड ८० लाखको शेयर र बैंक मौज्दात जफत गर्न, हिमालयन रि-इन्स्योरेन्सबाट लुटिएको २३ करोड ९२ लाख रुपैयाँ अभियुक्तहरूबाटै असुल गरी कम्पनीलाई फिर्ता दिलाउन माग गरिएको छ।
सरकारी वकिलले कारागारमा रहेका दीपक भट्ट र रोहित गुप्तालाई अदालतमा झिकाउन र फरार रहेका अन्य अभियुक्तहरूका नाममा पक्राउ पुर्जी (म्याद) जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ।
असोज २३, २०८३ शुक्रबार १२:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।