यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ।

हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस, कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा बदली रहनेछ भने बाँकी तराईका क्षेत्रमा आंशिक बदली रहनेछ।

पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी र सुदूरपश्चिमको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ।

रातिको समयमा पनि कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

वर्षा र हिमपातका कारण देशभर तापक्रममा केही गिरावट आउने सम्भावना छ।

भारी वर्षा, चट्याङ र हुरीबतासका कारण कृषि क्षेत्र तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचनाबारे निरन्तर जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज २३, २०८३ शुक्रबार ०९:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।