पोखरामा स्कुल बस दुर्घटना, १८ विद्यार्थी घाइते
पोखरा : पोखरा महानगरपालिका-२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन्।
स्थानीय कालिका इङ्लिस स्कुलको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेपछि घाइते भएका विद्यार्थीहरूको तत्काल उद्धार गरी उपचारका लागि पोखराका विभिन्न अस्पतालमा पठाइएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
बसमा करिब २१ जना विद्यार्थी सवार रहेको नेपाल प्रहरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज २३, २०८३ शुक्रबार ०९:१७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।