कांग्रेस महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीदेखि सदस्यसम्म दर्जनौँ आकांक्षी

कांग्रेस महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीदेखि सदस्यसम्म दर्जनौँ आकांक्षी

बुटवल : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय नेतृत्व हत्याउन लुम्बिनी प्रदेशका नेताहरूले दरिलो दाबेदारी प्रस्तुत गरेका छन्।

उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्म प्रदेशका नेताहरू चुनावी मैदानमा उत्रिएपछि महाधिवेशनमा लुम्बिनीको प्रतिनिधित्वलाई विशेष चासोका साथ हेरिएको छ।

लुम्बिनीबाट विभिन्न पदाधिकारी पदका लागि मात्रै सात जना नेता चुनावी प्रतिस्पर्धामा छन् भने एक जना निर्विरोध निर्वाचित भइसकेकी छन्।

महिला उपसभापति पदमा अर्घाखाँचीकी पुष्पा भुसाल निर्विरोध निर्वाचित भएर लुम्बिनीको खाता खोलिसकेकी छन्। यसअघि विशेष महाधिवेशनबाट समेत उपसभापति बनेकी भुसाल यसपटक निर्विरोध भएकी हुन्।

उपसभापतिकै अन्य पदमा भने लुम्बिनीका तीन प्रभावशाली नेता चुनावी मैदानमा छन्। खुला उपसभापतिमा दाङका दीपक गिरी र गुल्मीका डा. चन्द्रकान्त (चन्द्र) भण्डारी प्रतिस्पर्धामा छन् भने पश्चिम नवलपरासीका विनोदकुमार चौधरीले समावेशी उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

पार्टीको कार्यकारी मानिने महामन्त्री पदमा लुम्बिनी प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका रोल्पाका अमरसिंह पुन चुनावी मैदानमा छन्। रोल्पाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेका पुन पार्टीभित्र इतर समूहमा सक्रिय छन्। उनले पार्टी रूपान्तरण र केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका स्थापित गर्न महामन्त्रीमा दाबी गरेको बताएका छन्।

सहमहामन्त्री पदमा भने लुम्बिनीबाट तीन नेता आमनेसामने छन्। कपिलवस्तुका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह, विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका दाङका योगेन्द्र चौधरी र पूर्वकेन्द्रीय सदस्य रहेका पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेल प्रतिस्पर्धामा छन्। शाह र कँडेल पहिलोपटक सहमहामन्त्री पदमा भिड्न लागेका हुन्।

कांग्रेस महाधिवेशनमा लुम्बिनी प्रदेशबाट १ हजार ९ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्। प्रदेशबाट उम्मेदवार बनेका नेताहरूको राजनीतिक भविष्य निर्धारणमा यो मतसंख्या निर्णायक मानिएको छ।

केन्द्रीय सदस्यमा पनि उम्मेदवारको ओइरो
पदाधिकारीमा मात्र नभई केन्द्रीय कार्यसमितिका विभिन्न क्लस्टरमा समेत लुम्बिनीका नेता तथा युवाहरूको उल्लेख्य उम्मेदवारी परेको छ।

लुम्बिनी प्रदेश खुलातर्फको ३ केन्द्रीय सदस्यका लागि ९ जना प्रतिस्पर्धामा छन्। जसमा प्रदेश सरकारका पूर्वमन्त्रीद्वय धनेन्द्र कार्की र प्रचण्डविक्रम न्यौपाने, देवदह नगरपालिकाका पूर्वमेयर हिराबहादुर खत्रीसहित अमरप्रसाद भण्डारी, कमलप्रसाद भुसाल, कमलकिशोर घिमिरे, प्रदीपराज शर्मा, मोतीलाल भण्डारी र विष्णुप्रसाद खनाल छन्।

युवा-महिलातर्फको १ पदका लागि कमला हमाल, बबिता शाही, सञ्चिता ज्ञवाली, सुष्मा पाण्डे र सुस्मिता ढुंगाना भिड्दै छन्। त्यस्तै, ३५ वर्षमुनिको युवा खुला (१ पद) तर्फ इन्जिनियर शम्भु रेग्मी, अर्थशास्त्री एवं लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य डा. सुदनकुमार वली (रोल्पा), ओजश शर्मा, अनुकूल रेग्मी, अनुराग खड्का, कुमार आचार्य, दीपेन्द्र रेग्मी र राकेश यादव मैदानमा छन्।

खुलातर्फ पनि राष्ट्रिय राजनीतिमा स्थापित अनुहारहरूको बाक्लो उपस्थिति छ। जसमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाह, पूर्वमन्त्री जन्मजय तिमिल्सेना, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, लुम्बिनी प्रदेश सांसदद्वय निमा गिरी र जमुना ढकाल, पूर्वप्रदेश सांसद निर्मला क्षेत्री, इन्जिनियर अमृत ज्ञवाली, हिमालदत्त श्रेष्ठ, विजय गुरुङ, सुशील गुरुङ, गंगा शाही र रिता सेन ओली चुनावी मैदानमा छन्।

खस-आर्यतर्फ माधवी शर्मा वाग्ले र मुस्लिम पुरुषतर्फ सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

असोज २३, २०८३ शुक्रबार ०८:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।