सूची बाँडिएपछि गगनले भने- कुनै प्यानल छैन, भ्रममा नपरी विवेकपूर्ण मतदान गर्नूस्

सूची बाँडिएपछि गगनले भने- कुनै प्यानल छैन, भ्रममा नपरी विवेकपूर्ण मतदान गर्नूस्

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सभापतिका प्रत्यासी गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा आफ्नो कुनै प्यानल वा गुट नरहेको स्पष्ट पार्दै कसैको भ्रममा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका कुनै पनि उम्मेदवार सूची आधिकारिक नभएको बताएका हुन्।

“यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो, यसपटक कुनै पनि प्यानल वा गुट छैन,” थापाले भनेका छन्, “मेरो नाम जोडेर प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला। कुनै पनि अफवाहमा नलागी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गर्दछु।”

मतदान सुरु हुनुअघि महाधिवेशनस्थलमा ‘विश्वप्रकाश शर्मा नेतृत्वको समूह’ उल्लेख गरिएको ‘अति गोप्य’ सूची सार्वजनिक भएको थियो। उक्त सूचीमा गगनलाई सभापति र विश्वप्रकाशलाई वरिष्ठ उपसभापति प्रस्ताव गरिए पनि उनीहरूसँगै निकट मानिएका महामन्त्रीका उम्मेदवारद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको नाम भने हटाइएको छ। सूची बाहिरिएर विवाद भएपछि थापाको यस्तो प्रष्टीकरण आएको हो।

बिहीबार प्राविधिक तयारी नपुगेर रोकिएको मतदान आज बिहानदेखि राष्ट्रिय सभा गृह र खुलामञ्चमा हुन लागेको छ। प्रतिनिधिहरू २९७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि लामबद्ध भएर मतदान गर्न तयार छन्।

असोज २३, २०८३ शुक्रबार ०७:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।