कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान ७ बजे
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु हुँदैछ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहीबार हुनुपर्ने निर्वाचन मतपत्र छपाइमा ढिलाइ हुँदा आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन।
मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। बिहीबार नै हुनुपर्ने मतदान प्राविधिक समस्या र मतपत्र छपाइमा ढिलाइका कारण रोकिएपछि आज बिहानका लागि सारिएको थियो।
मतदान सुरु हुने भएपछि प्रतिनिधिहरू बिहान सबेरैदेखि नै मतदानस्थलमा उत्साहका साथ लामबद्ध भएर बसेका थिए।
महाधिवेशनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट आएका ७ हजार ३ सयभन्दा बढी प्रतिनिधिहरूले २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मताधिकार प्रयोग गरिरहेका छन्।
कुन प्रदेशको मतदान कहाँ ?
निर्वाचन समितिले भिडभाड व्यवस्थापनका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।
राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्दा खुलामञ्चमा रहेको हिमाल हलमा गण्डकी प्रदेश, तराई-मधेश हलमा कोशी प्रदेश र मधेश प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भ्रातृ संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्दैछन्।
एक मतदातालाई २३ मतपत्र, करिब ३० मिनेट लाग्ने
यस निर्वाचनमा एक जना प्रतिनिधिले विभिन्न पदका लागि गरी २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। धेरै पद र मतपत्र भएकाले एक जनालाई मतदान सम्पन्न गर्न करिब ३० मिनेटसम्म लाग्ने अनुमान गरिएको छ।
मतदानस्थल प्रवेश गर्नुअघि परिचयपत्र र मतदाता नामावली अनिवार्य रुजु गर्ने व्यवस्था गरिएको छ। यस्तै, निर्वाचन आचारसंहिताअनुसार मतदान कक्षभित्र मोबाइल फोनलगायतका विद्युतीय सामग्री लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र सदस्यसचिव राजु कटुवालका अनुसार बिहीबार साँझ अबेर मतदान सुरु गर्दा मतदातालाई रातभर चिसो र अन्य प्राविधिक कठिनाइ हुने देखिएकाले प्रतिनिधिहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राखी शुक्रबार बिहानका लागि सारिएको हो।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको आजको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिले जनाएको छ।
दिउँसो ३ बजे मतदान सम्पन्न भएपछि सबै मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिनेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
असोज २३, २०८३ शुक्रबार ०७:१४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।