एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित विरुद्ध ठगी र म्याच फिक्सिङको मुद्दा दर्ता
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले आर्थिक अनियमितता, खेल मिलेमतो (म्याच फिक्सिङ) र ठगी गरेको दाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ललितपुरले बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो।
अभियोग पत्रमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। जोशी र लेखा अधिकृत पाण्डे पक्राउ परेका थिए। अध्यक्ष नेम्वाङ र महासचिव राई अनुसन्धान सुरु भएदेखि नै फरार छन्।
अभियोग पत्रमा मुख्यतया म्याच फिक्सिङ, ठगी र राजस्व अपचलनमा संलग्न रहेको उल्लेख छ। एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र बहराइनबीचको 'होम म्याच' काठमाडौँस्थित दशरथ रङ्गशालामा हुनुपर्नेमा घरेलु मैदानको अवस्था बिग्रन दिई योजनाबद्ध रूपमा खेल बहराइनमा सारिएको अभियोग लिइएको छ। अभियोग पत्रमा विपक्षीसँग मिलेमतो गरी नेपाललाई पराजित गराउने र स्वाभाविक परिणाम प्रतिकूल हुने कार्य गरेको दाबी गरिए पनि ठोस प्रमाण भने देखिन्न।
अर्को हो नेपालको खेल बहराइनमा सञ्चालन गरेबापत बहराइन फुटबल संघबाट एन्फाले पाउनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको खातामा दाखिला नगरी अपचलन गरिएको विषय। यो पक्ष बलियो देखिन्छ।
एन्फाको आर्थिक कार्यविधि विपरीत खुला प्रतिस्पर्धा वा टेन्डर नगरी कोटेसनमार्फत खेल सामग्री खरिद गरी संघलाई ५० हजार अमेरिकी डलर बराबरको बेइमानीपूर्वक हानी-नोक्सानी पुर्याइएको दाबी गरिएको छ। केटिएम सिटीको प्रकरण समेत उल्लेख गरिएको छ। तर विवरणहरू एकपक्षीय देखिन्छ। यसमा महासचिव राईमाथि आरोप लगाइए पनि यसमा जोडिएकाहरूलाई भने उन्मुक्ति दिइएको देखियो।
यसैगरि फिफाबाट एन्फालाई उपलब्ध गराइएको ३३० थान विश्वकप टिकटहरूको बिक्री-वितरणमा पारदर्शिता नराखी गैर-आधिकारिक माध्यमबाट किनबेच गरिएको अभियोग पत्रमा उल्लेख छ।
असोज २२, २०८३ बिहीबार २३:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।