कांग्रेस महाधिवेशन : प्रतिनिधिको थप एक दिनको बसाइँ र खाना खर्च पार्टीले व्यहोर्ने
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खाना खर्च पार्टीले व्यहोर्ने भएको छ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।
श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्वाचन प्रक्रिया एक दिन लम्बिएकाले प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने छ।
उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३१७ रहेको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नै थालिने बताए।
उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको समेत बताए।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।
असोज २२, २०८३ बिहीबार १८:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।