कांग्रेस महाधिवेशनमा मतदानको समय फेरि सर्यो, भोलि बिहान ७ बजेदेखि हुने
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान नहुने भएको छ।
आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा हुन नसकेपछि भोलि बिहान ७ बजेदेखि मात्र मतदान सुरु हुने भएको हो।
निर्वाचन समितिले यसअघि आज बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, बिहानको भारी वर्षा र प्राविधिक कारण देखाउँदै पहिलो पटक समय सारेर बिहान १० बजे पुर्याइएको थियो। १० बजे पनि निर्वाचन सामग्री र बुथ व्यवस्थापन नसकिएपछि निर्वाचन समितिले समय हेरफेर गर्दै दिउँसो १ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो। तर, दिउँसो १ बजिसक्दा समेत सम्पूर्ण तयारी पूरा हुन नसकेपछि दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तोकिएको हो।
निर्वाचन समितिले सूचना जारी गर्दै मतपत्र छपाईमा केही ढिलाइ भएका कारण निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको स्पष्ट पारेको छ। समितिले हाल सबै मतपत्र छपाई भई आइपुगेको, मतदान प्रक्रियामा खटिने जनशक्ति, सुरक्षा व्यवस्था, स्वयंसेवक तथा मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन तयार भइसकेको जनाएको छ।
रातको समयमा मतदान गराउनु उपयुक्त नहुने भन्दै प्राप्त सुझाव, सम्भावित प्रतिकूल मौसम तथा समग्र परिस्थिति ध्यानमा राखी भोलि बिहानैदेखि मतदान गराउने निर्णय गरिएको समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार असोज २३ गते बिहान ७ बजेदेखि ज्येष्ठ मतदाताबाट मतदान सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि मतदान गर्न काठमाडौं आएका छन्।
संशोधित विधानअनुसार यस महाधिवेशनबाट २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि सयौँ नेताहरू चुनावी मैदानमा छन्।
असोज २२, २०८३ बिहीबार १७:५२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।