आयन माझीको अपराधको ‘रिपिटेड’ चक्र : २७ पटक छुटे, काँडाघारीमा गोली हानी फेरि पक्राउ परे
काठमाडौं : काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २६ वर्षीय आयन माझीको अपराधीक पृष्ठभूमि पटके रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै आयन यस अघि डाँका मुद्दामा २७ पटक पक्राउ परेको जानकारी दिएको हो।
प्रहरीले बुधबार राति पौने १० बजे माझीसहित थप दुईजना नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरी भाग्न खोज्दा प्रहरीले गोली चलाएको परिसर प्रमुख दिलीप घिमिरेले बताए। उनले भने, “जडीबुटी पुल मुनीको सडक खण्डमा चोरीको मोटरसाइकलमा सवार आयन सहितलाई लिन खोज्दा धारिलो हतियार प्रहार भएकोले भाग्न खोज्दा २ राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हौँ।”
माझी जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडाैंमा गरी २७ वटा मुद्दामा पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। त्यसैगरी उनीसँगै पक्राउ पर्नेमा ३६ वर्षीय मनोज कुमार मोक्तान र मोटरसाइकल चोरीमा संलग्न राकेश थिङ रहेका छन्। मोक्तान र थिङ दुवैको यसअघि पनि ठिमी प्रहरी वृत्तमा आपराधिक रेकर्ड रहेको खुलेको छ।
प्रहरीका अनुसार आयन माझी नै यो आपराधिक गिरोहका मुख्य नाइके हुन्। लुटपाटको योजना बनाउने, बहुमूल्य सामान खोस्ने तथा त्यसको व्यवस्थापन गर्ने, लुटपाटमा प्रयोग हुने हतियार, मोटरसाइकल र नक्कली नम्बर प्लेटको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी माझीले नै सम्हाल्दै आएका थिए। मोक्तानले मोटरसाइकल चालक र थिङले मोटरसाइकलको पछाडि बसेर लुटपाटमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो समूहले बिहानको समयमा मर्निङ वाकमा निस्किएका, तरकारी बिक्री गर्न जाने तथा एक्लै हिँडिरहेका महिला र वृद्धवृद्धालाई लक्षित गर्ने गरेको थियो। बाटो सोध्ने बहाना बनाएर नजिक पुग्ने र मौका पाउनेबित्तिकै सिक्री तानेर भाग्ने उनीहरूको एउटा शैली रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, इनड्राइभ तथा पठाओको बहाना बनाउँदै यात्रु खोजेजस्तो गर्ने र मोटरसाइकलमा बस्न खोज्ने व्यक्तिलाई लक्षित गरी सिक्री लुट्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा तीन–तीन जना सवार भई एक्लै हिँडिरहेका व्यक्तिलाई घेरा हाल्ने, हतियार देखाउने तथा साथमा रहेका नगद तथा बहुमूल्य सामान लुट्ने गरेको पाइएको छ।
यसअघि २०८२ माघ १५ गते पनि जिल्ला प्रहरी परिसरको टोलीले आयनसहित मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङलाई पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गहना र नगद रुपैयाँ बरामद गरेको थियो।
जेल पर्छन्, छुट्छन्, फेरि लुट्छन्
माझी ६ महिनाअघि पक्राउ परेका भए पनि अदालतबाट धरौटीमा रिहा भएका थिए। परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार गम्भीर अपराधमा संलग्न व्यक्तिहरू पनि धरौटीमा छुट्दा पुनः पुरानै अपराधमा फर्किने प्रवृत्ति देखिएको छ।
"डाँका तथा चोरी गर्छन्, केही महिना जेल बस्छन् र धरौटीमा छुटेर फेरि पुरानै काममा फर्किन्छन्," प्रवक्ता थापाले भने, "हामीले जति नै प्रमाण जुटाउन खोजे पनि कानुनी प्रक्रिया र प्राविधिक कारणले उनीहरू सजिलै छुट्छन्।"
“कानुनले गम्भीर प्रकारको अपराधलाई भिन्दै तरिकाले परिभाषा गरेको छ। डाँका चोरी गर्छन् केही महिना भित्र पस्छन् अनि धराैँटीमा छुट्छन् र फेरी पुरानै काममा फर्किन्छन्। आयन केश पनि त्यही हो। अब कति कुरा हामीले प्रमाण जुटाउन सक्दैनौँ," प्रवक्ता थापाले भने, "अहिलेको केशमा पनि प्रहरीले हेरिरहेको छ हेरौँ कहाँसम्म जान सक्छौँ।”
प्रहरीको रेकर्ड हेर्ने हो भने, आयनको आपराधिक रेकर्ड २०७७ सालदेखि सुरु भएको देखिन्छ। २०७७ मा ३ महिना कैद भुक्तान गरी धरौटीमा छुटेका उनलाई अदालतले पुनः ६ महिनाको कैद सुनाएको थियो। उक्त मुद्दामा फरार रहेका उनी २०८२ वैशाखमा पक्राउ परेर बाँकी ३ महिना कैद भुक्तान गरी छुटेका थिए।
उनीविरुद्ध काठमाडौं परिसर, भक्तपुर परिसर र इलाका प्रहरी कार्यालय बनेपामा गरी २७ वटा फरक-फरक मुद्दा दर्ता भइसकेका छन्।
२०७९ भदौ २६ गते भक्तपुरमा डाँका चोरी, २०७९ कात्तिक ११ गते भक्तपुरमै डाँका चोरीको साथै २ फरक मुद्दा दर्ता रहेका छन्। यस्तै, २०७९ कात्तिक २३ मै इलाका प्रहरी कार्यालय बनेपामा डाँका चोरी मुद्दा, २०८२ माघ १५ गते काठमाडाैं परिसरमा डाँका चोरी मुद्दा, २०८२ माघ २० मै डाँका चोरी सहित ९ वटा फरक मुद्दा दर्ता भएका छन्। २०८२ को माघ २१ मै डाँका चोरी सहित २ फरक मुद्दा, माघ २५ गते परिसरमै डाँका चोरी सहित ६ फरक मुद्दा, फागुन ४ मा पुन: काठमाडौं परिसरमा डाँका चोरी मुद्दा र फागुन ८ मा काठमाडौं परिसरमै डाँका चोरी सहित थप २ मुद्दा दर्ता भएका छन्। त्यसैगरी फागुन ११ गते पनि डाँका चोरी सहित २ फरक मुद्दा भक्तपुर ठिमीमा दर्ता भएको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
यसबाहेक, गत भदौ २४ गतेको जेनजी आन्दोलनमा समेत आयनले उपत्यकाका विभिन्न स्थानमा रहेका बैङ्कका एटिएम बुथहरूमा समेत लुटपाट गरेको प्रहरीले जनाएको छ।
असोज २२, २०८३ बिहीबार १८:१२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।